अमेरिकी ड्रोन आक्रमणमा आईएसका सूत्रधार मारिएको दाबी



काबुल, (एजेन्सी) ।

अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी भागमा आफूले गरेको एक ड्रोन विमान आक्रमणमा इस्लामिक स्टेट समूहको अफगानिस्तानका लागि बम योजनाकार मारिएको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । ती आशंकित आईएस–के ग्रुपका सदस्यलाई नान्गारहार प्रान्तमा आक्रमण लक्षित गरिएको थियो । आइएस–केले आफूले बिहीबार राजधानी काबुलस्थित विमानस्थलबाहिर बम आक्रमण गरी १३ जना अमेरिकी सैनिकलगायत एक सय ७० जनाको ज्यान लिएको दाबी गरेको छ ।

यसै महिना मात्र तालिवान लडाकुहरूले अफगानिस्तानमा पूर्ण नियन्त्रण जमाएयता सोही विमानस्थलमार्फत थुप्रै विदेशी र अफगान जनताले तालिवानको डरका कारण अफगानिस्तान छाडिसकेका छन् । विगत दुई सातायता एक लाखभन्दा बढी मानिसले अफगानिस्तान छाडिसकेको विश्वास गरिएको छ । अमेरिकाले आफ्नो फौजले अफगान भूमि छाड्न तोकेको समयसीमा मंगलबार सकिँदै छ ।

बिहीबारको बम आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जिहादीहरूको शिकार गरिने प्रतिबद्धता जाहेर गरेका थिए ।

आइएस–के अर्थात् इस्लामिक स्टेट खोरासान प्रान्त अफगानिस्तानमा सक्रिय अन्य सम्पूर्ण जिहादी लडाकु समूहमध्ये सबैभन्दा अतिवादी र हिंसात्मक रहेको मानिन्छ । मध्यपूर्वबाट उडाइएको रिपर ड्रोनले एउटा कारमा रहेका ती योजनाकार र अन्य एक आईएस सदस्यलाई घटनास्थलमै मार्न सफल भएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्