गुप्तचर समुदाय कोभिडको उद्गम निर्धारण गर्न असफल



वासिङ्टन, (एजेन्सी) । 

अमेरिकी गुप्तचर समुदाय कोभिड–१९ को मूल निर्धारण गर्न असफल भएको छ । उनीहरूका अनुमानमा कोरोना भाइरस कुनै प्रयोगशालाबाट चुहिएको वा प्रकृतिमै विकास भएको भन्ने दुई तथ्यमा विभाजित भएको यस सम्बन्धमा सार्वजनिक भएको नयाँ प्रतिवेदनमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको १८ वटा गुप्तचर निकायका मामिला हेर्ने कार्यालयले जारी गरेको सो प्रतिवेदनमा कोरोना भाइरसलाई जैविक हतियारको रूपमा विकास नगरिएको निष्कर्षसमेत निकालिएको छ ।

विशेषज्ञहरूले यसको शुरुवात बिन्दुका प्रमाण पत्ता लगाउने समय सकिँदै जान लागेको चेतावनीसमेत दिएका छन् । चीनको विदेश मन्त्रालयले भने यस प्रतिवेदनलाई ‘विज्ञान विरोधी’को संज्ञा दिँदै आलोचना गरेको छ ।

राष्ट्रिय गुप्तचर निर्देशनालय कार्यालयको प्रतिवेदनले गुप्तचर समुदाय कोभिडको सम्भावित उद्गम स्थानबारे विभाजित मनस्थितिमा पुगेको जनाएको छ । ती सम्पूर्ण गुप्तचर निकायले कोरोना भाइरस प्रकृतिबाटै कुनै प्राणीमा संक्रमण भएको वा कुनै प्रयोगशालाबाट चुहावट भएको हुनसक्ने दुवै परिकल्पनालाई विश्वास गर्न सकिने बताएका छन् । तर, यस निष्कर्षमाथि पनि तिनीहरूको न्यून आत्मविश्वास रहेको बताइएको छ ।

यो प्रतिवेदन सार्वजनिक भइसकेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले यससम्बन्धी अनुसन्धानमा सहयोग नगरेको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्