३० करोड प्रति बिक्री भएको एल्बमको तस्वीर विवादास्पद



लन्डन ।

विश्वचर्चित सांगीतिक समूह निर्वाणाको ‘नेभर माइन्ड’ नामक एल्बममा छाप्न धेरै वर्ष पहिले बाल्यअवस्थामा तस्वीर खिचिएका स्पेन्सर एल्डेन नामक व्यक्तिले अहिले आफ्नो यौनशोषण भएको भन्दै यस ब्यान्डविरुद्ध क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् ।

सो एल्बमको कभर फोटोमा चारमहिने एल्डेन पौडी पोखरीमा माछा मार्ने बल्छीमा अड्काइएको एक डलर नोटसामु पौडिरहेको देखिन्छ ।
अहिले ३० वर्ष उमेरका उनले आफ्ना अभिभावकले कहिल्यै पनि एल्बममा सो तस्वीर छाप्न ब्यान्डसँग कुनै पनि सम्झौता नगरेको बताएका छन् ।

साथै, उनले सो नाङ्गो तस्वीरले बाल यौन सामग्रीको रूपमा पेस गरिएको पनि आरोप लगाएका छन् ।
क्यालिफोर्नियाको एक अदालतमा पेस गरिएको कानुनी दस्तावेजमा आफ्नो यौनाङ्ग देखिने गरी खिचिएको यो तस्वीर त्यसबेलादेखि अहिलेसम्म पनि बजारमा सार्वजनिक भइरहेकोे एल्डनका गुनासो रहेको छ ।

तर, अमेरिकाको प्रचलित कानुनअनुसार शिशुहरूको यस्तो तस्वीरलाई सामान्यतया अश्लील यौन सामग्री मानिदैन ।

तर, एल्डेनका वकिल रोबर्ट वाई. लिबिसले डलरको प्रस्तुति हेर्दा ती नाबालक ‘यौनकर्मि’ जस्तो देखिएको बताएका छन् । यस मुद्दामा निर्वाणाले एल्डेनको संवेदनशील अंगहरू स्टिकरले छोपिदिने बताएको कुरासमेत उल्लेख गरिएको छ ।

उनले जीवित ब्यान्ड सदस्य डेब ग्रोह्ल र क्रिस्ट नोभोसेलिक अर्थात गायक कर्ट कोबिनका म्यानेजरहरू, कोबिनकी पूर्वपत्नी कर्टनी लभ र फोटोग्राफर किर्क वेडललगायतबाट क्षतिपूर्तिबापत जनही एक लाख ५० हजार डलर माग गरेका छन् ।

निर्वाणका प्रतिनिधिलगायत तिनीहरूका लेभलले उनको मागबारे अझैसम्म कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । मानसिकरूपमा ठूलै आघात महसुस गरेका एल्डेनले किशोरावस्थादेखि वयष्क हुँदासम्म सो तस्वीरलाई धेरैपटक परिष्कृत गर्न खोजेका थिए ।

नेभर माइन्डको दशौं, बिसौं र २५औं वर्षगाँठमा उनले स्विमिङ कस्ट्युम लगाएर सोे एल्बमको मु्खपृष्ठ तस्वीर परिमार्जन गर्न खोजेका थिए । उनले कहिलेकाहीँ यस घटनालाई लिएर अलमलिने खालको दोहोरो अभिव्यक्ति पनि दिने गरेका थिए ।

सन् २०१६ मा उनले टाइम पत्रिकालाई भनेका थिए– ‘ठूलै हुँदै जाँदा यस तस्वीरमार्फत कुख्याती कमाएकोमा दुःख लाग्न थाल्यो । म यत्रो ठूला प्रोजेक्टका लागि सानैमा छानिएको रहेछु । बिना अर्थको लोकप्रियता झेल्नु पनि निकै गाह्रो हुँदोरहेछ । आफूलाई यसरी निःशुल्क सरिक गराइएको कामबाट अरूले कति पैसा कमाए भन्ने सुन्दा पक्कै अप्ठयारो लाछ ।’

निर्वाणाको हिट गीतहरू ‘स्मेल्स लाइटी स्पिरिट’, ‘कम एज यु आर’ र ‘लिथियम’ समावेश भएको सो एल्बमको तीन करोड प्रति विश्वभरि बिक्री भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्