धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन प्रशासनको आग्रह



दार्चुला, (नेस) ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारीअनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध भोलि (बिहीबार) बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोलिने सूचनामा उल्लेख रहेको प्रशासनले जनाएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार १२ घण्टा बाँधको मर्मत कार्य हुने भएकाले बाँध खोलिन लागेको हो । बाँधको मर्मत कार्य गर्दा बाँधका सबै जसो ढोकाहरू खेलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने अनुमान गरिएको छ । नदीमा बढ्ने जलस्तरका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सूचना जारी सर्तक रहन प्रशासनले आग्रह गरेको छ ।

बाँधका ढोकाहरू खोलिने भएको हुँदा व्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत् उत्पादनका लागि बनाएको बाँधबाट २ सय ८० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्