सासुको भत्ता निकाल्न नागरिकता किर्ते, वडा सचिव पक्राउ



राजविराज, (नेस) ।

सप्तरीमा सरकारी कागजात, छाप र नागरिकता किर्ते गरेको आरोपमा एक जना वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर छन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा स्थानीयले चार जनामाथि मुद्दा दायर गरेका थिए । अदालतको आदेशअनुसार वडा सचिव ठाकुरलाई गत साउन २४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभएको छ । यद्यपि, अन्य तीन जना आरोपी फरार छन् ।

ठाकुरसहितका मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्तावापत रकम उठाएको आरोप छ भने एउटै व्यक्तिको फरक–फरक नागरिकता बनाएर भत्ता उठाएका छन् । केहीको नागरिकतामा पनि उमेर बढाएर सामाजिक सुरक्षा भत्तावापतको रकम उठाएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभएको छ ।

उहाँका अनुसार २०७४/०७५ देखि नै ठाकुरसहितकाले ७८ जनाको त्यसरी सामाजिक सुरक्षा भत्ता उठाएको आरोप छ । पक्राउ परेका ठाकुरमाथि सरकारी कागज छाप किर्ते र किर्ते नागरिकता मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको छ भने अन्य तीन जनाको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्