कोरोनाले जनप्रतिनिधिको मृत्यु



इलाम, (नेस) ।

बुधबार मात्र जिल्लामा चार जनाको मृत्यु भएकोमा बिहीबार फेरि दुई जनाले ज्यान गुमाएका छन् । बिहीबार एक जना वडा सदस्य र एक जना व्यवसायीको कोरोनाले ज्यान लिएको हो ।

जिल्लाको माईजोगमाई गाउँपालिका–३ कि वडा सदस्य मेनुका कठेत रोक्का र इलाम नगरपालिका–७ इलाम चोक बजारका व्यवसायी विजय खाकीको उपचारका क्रममा ज्यान गएको थियो । वडा सदस्य रोक्काको झापाको बिर्तासिटी अस्पताल र खाकीको काठमाडौंकोे बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट उच्च जोखिम बनिरहेको इलाममा केही दिनयता संक्रमणदरमा केही कमी आएको देखिए पनि मृत्युदर भने बढिरहेको छ । जिल्लामा पछिल्लो केही दिनयता दिनहुँजसो कोरोनाबाट मानिसको मृत्यु भइरहेको छ ।

मंगलबारबाट स्वास्थमा समस्या बढेपछि वडा सदस्य रोक्कालाई आईसीयूमा राखिए पनि बिहीबार बिहान मृत्यु भएको हो । वडा सदस्यको मृत्युपछि माईजोगमाई गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ ।

यता इलामका सफल व्यवसायी खाकीको बिहीबार बिहान करिब १ बजेतिर निधन भएको बताइएको छ । कोरोना संक्रमणपछि झापाको बीएन्डसी अस्पतालमा उपचार गराइरहनुभएका खाकीलाई थप उपचारका लागि एक साताअघि काठमाडौं लगिएको थियो । इलाम उद्योग वाणिज्य संघका पूर्वमहासचिवसमेत रहनुभएका खाकी अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष हुनुहुन्थ्यो ।

सामाजिक व्यक्तित्वका रूपमा पनि परिचित खाकीको निधनबाट इलामले कुशल व्यवसायी गुमाएको छ । उहाँले आफ्नै घरमा पसलसमेत सञ्चालन गर्दै आउनुभएको थियो । रोक्का र खाकीको निधनसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्