चिनियाँ पाठ्यक्रममा राष्ट्रपति सीको विचारधारा लागू हुने



बेइजिङ, (एजेन्सी) ।

चीनले राष्ट्रिय शैक्षिक पाठ्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको राजनीतिक विचारधारालाई समावेश गर्ने भएको छ । नयाँ निर्देशिका पुस्तिकामा चीनको शिक्षा मन्त्रालयले ‘सी जिनपिङ’ विचारधाराले किशोर–किशोरीमा माक्र्सवादी विश्वास जगाउन मद्दत पुग्ने बताइएको छ । यस सिद्धान्तलाई प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मै लागू गरिने बताइएको छ ।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको भूमिकालाई समाजका विभिन्न क्षेत्रमा सुदृढीकरण गर्ने राष्ट्रपति सीको यो पछिल्लो प्रयास हो ।
शिक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ– ‘सर्वांगीण नैतिकता, बौद्धिकता, भौतिक र कलात्मकता सहितको समाजवादका निर्माणकर्ता र उत्तराधिकारीहरू उत्पादन गर्ने यसको उद्देश्य हो ।’

निर्देशिकामा युवाहरूको कडा परिश्रम गर्ने बानी बसाल्न श्रम शिक्षा र राष्ट्रिय सुरक्षा शिक्षा पनि संलग्न गरिएको छ ।

सन् २०१८ मा चीनको उच्च निकायले ‘सी जिनपिङको विचारधारा’ संविधानमै राख्ने व्यवस्था गरेको थियो । त्यतिबेलादेखि नै यसलाई केही विश्वविद्यालयमा, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने युवा, राजनीतिक समूह र केही विद्यालयहरूमा लागू गरिएको थियो । ‘सी जिनपिङ विचारधारा’को १४ वटा मुख्य सिद्धान्त छन् । ती सिद्धान्तले कम्युनिस्ट आदर्शमाथि जोड दिनुका साथै ‘पूर्ण र गहन सुधार’ तथा ‘नयाँ विकसित विचार’का लागि आह्वान गर्ने ‘मानव र प्रकृतिबीचको सुमधुर सम्बन्ध, ‘पार्टी र जनसेनामाथि पूर्ण अधिकार’, ‘एक मुलुक दुई प्रणाली’को महत्व र मातृभूमिको पुनः एकीकरणमा जोड दिने कुरा उल्लेख गरेका छन् ।

चिनियाँ इतिहासमा यसअघि माओत्से तुङ र देङ सियाओ पिनका नाममा मात्र विचारधारा अस्तित्वमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्