माफिया समूह याकुजा नाइकेलाई मृत्युदण्ड



JAPAN – DECEMBER 13: Kitakyushu based Yakuza syndicate leader Satoru Nomura on December 13, 2013. (Photo by The Asahi Shimbun via Getty Images)

टोकियो, (एजेन्सी) ।

दक्षिण–पश्चिमी जापानको एक अदालतले एक खतरनाक आपराधिक समूहका नाइकेलाई फाँसीको सजाय सुनाएको छ । फुकुओका शहरको अदालतले ७४ वर्षीय माफिया समूह याकुजाका नाइके नोमुरा सातोरुले चारवटा साङ्घातिक आक्रमणका लागि आदेश दिएकोमध्ये एक आक्रमणमा मानिसको ज्यानसमेत गएको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रमाणको अभावका बाबजुद पनि उनलाई मृत्युदण्ड सुनाइएको जनाएको छ । नोमुराले आफू कुनै पनि अपराधमा संलग्न नरहेको अडान लिएका थिए । जापानको इतिहासमै पहिलोपटक माफियाका कुनै वरिष्ठ सदस्यलाई मृत्युदण्ड सुनाइएको यो पहिलो घटना भएको विश्वास गरिएको छ ।

जापानको निसिनिप्पोन सिम्बुन अखबारले मंगलबार अदालतमा नोमुराले सजाय सुनाउने न्यायाधीशलाई न्यायपूर्ण निर्णय नदिएको खण्डमा उनले आजीवन दुःख पाउने चेतावनी दिएको जनाएको छ ।

दक्षिण–पश्चिमी जापानमा सञ्चालित कुदो–काई सिन्डिकेटका नाइके नोमुराले मृत्युदण्डविरुद्ध अपिल गर्ने योजना बनाएको छ । अदालतसँग उनीविरुद्ध कुनै पनि हिंसात्मक घटनासम्बन्धी प्रमाण नभए पनि उनको आदेश अचुक हुने भएकाले उनी कुनै पनि हिंसात्मक घटनाका लागि जिम्मेवार रहने जनाएको छ ।

सन् १९९८ देखि २०१४ बीच भएका चारवटा आक्रमणका क्रममा एउटा फिसिंग को–अपरेटिभका पूर्व बोस मारिनुका साथै एक प्रहरी अधिकारीलगायत तीन जना गम्भीर घाइते भएका थिए । याकुजा समूहहरू जापानमा प्रतिबन्धित छैनन् । तिनीहरू लागुऔषध कारोबारदेखि, वेश्यावृत्ति र शेयर बजार गोलमाल गर्नेसम्मका आपराधिक कारोबारमा संलग्न रहने गरेको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्