विश्व बैंकले अफगानिस्तानका परियोजनामा सहयोग रोक्यो



काबुल, (एजेन्सी) ।

इस्लामिक लडाकु समूह तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूका लागि आर्थिक लगानी सहयोग बन्द गरेको छ । बैंकले तालिवानको नियन्त्रणपछि अफगानिस्तानको विकासको भविष्य र विशेष गरी महिलाहरूमाथि के–कस्ता असर पर्ने हुन् भनेर चिन्ता व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अफगानिस्तानलाई नगद भुक्तानी दिन बन्द गरेको केही दिनपछि विश्व बैंकले पनि यो कदम चालेको हो । अमेरिकाको बाइडेन सरकारले पनि अमेरिकास्थित अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति रोक्का गरिसकेको छ ।

विश्व बैंकका प्रवक्ताले बीबीसीलाई बताएका छन्– ‘हामीले अफगानिस्तानमा हुने गतिविधिका लागि खर्च रोकिसकेका छौं । हामीले आन्तरिक नीति र प्रक्रियाअनुसार निकटबाट परिस्थितिको अवलोकन र मूल्यांकन गरिरहेका छौं । हामीले निरन्तर अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारहरूसँग गम्भीर छलफल जारी राख्नेछौं । हामी हाम्रा साझेदारहरूसँग मिलेर कडा परिश्रम गरी प्राप्त गरेका विकासका उपलब्धिहरू जोगाउने र अफगानिस्तानमा मानिसहरूलाई समर्थन र सहयोग गर्ने उपायहरू खोजिरहेका छौं ।

सन् २००२ यता अमेरिकाको वासिङ्टनस्थित विश्व बैंकले अफगानिस्तानमा पुनर्निर्माण तथा विकास परियोजनाका लागि ५ अर्ब ३० करोड अमेरिकी डलरभन्दा बढी पैसा खर्च गरिसकेको छ । शुक्रबार विश्व बैंकले अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो टोली र तिनीहरूका सम्बन्धित परिवारलाई सुरक्षित तरिकाले अफगानिस्तानबाट पाकिस्तान पुर्‍याइएको जनाएको थियो । २३ अगस्टदेखि अफगानिस्तानमा पठाइने निर्णय भइसकेको करिब ४४ करोड डलर आईएमएफले यसअघि नै रोकिसकेको अवस्था छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट मानिसहरूलाई सुरक्षित ढंगले अन्य गन्तव्यतर्फ ओसार्ने अन्तिम तिथि ३१ अगस्ट मान्ने बताएका छन् । यद्यपि, अन्य गठबन्धन समूहले समय सीमा बढाउन माग गरेका थिए । बाइडेनले भनेका छन्– ‘यो काम जतिसक्दो छिटो गरे राम्रो ।’ अमेरिकी सञ्चारमाध्यमका अनुसार केही अमेरिकी फौजलाई स्वदेश फिर्ता लगिसकेको छ । तर, यसबाट मानिस ओसार्ने काम प्रभावित भएको छैन । नौ दिनअघि अफगानिस्तान तालिवानको हातमा गएयता कम्तिमा ७० हजार ७ सय व्यक्तिले अफगानिस्तान छाडिसकेका छन् । तालिवान लडाकुहरूले पनि मानिस ओसार्ने म्याद थप्न नदिने भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्