ओरालो लाग्दै मुसुरो दालको निर्यात



न्युज अफ नेपाल, भद्रपुर ।

झापा पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमस ओरालो लाग्दैं आएको छ । सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि निर्यात हुन नसकेको हो । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकडभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यापार खासै सन्तोषजनक नरहेको व्यवसायीको भनाइ छ । काँकडभिट्टा नाका भएर निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ चारवर्षको अवधिमा क्रमस घट्दोे क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा काँकडभिट्टा नाका भएर २६ करोड ३० लाख ३० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ८ सय १४ मेट्रिक टन मुसुरो दाल निर्यात भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ५७ करोड ८० लाख ८ हजार रुपैयाँ वा ४ हजार ८ सय ३७ मेट्रिक टन कम निर्यात हो । आर्थिक वर्ष २०७६/०७७ मा ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टन मुसुरो दाल निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा मुसुरो दालको निकासीमा केही वृद्धि भएपनि आर्थिक वर्ष २०७६/०७७ मा निकासी हवात्तै घटेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बंगलादेश निकासी गरेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७४/०७५ मा नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बंगलादेश निर्यात भएको थियो ।

दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यवसायीहरुले मुसुरो दाल निर्यातका क्रममा अनिवार्यरुपमा खाद्य प्रयोगशालाको सिफारिश पेश गर्नुपर्ने प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका बताउँनुहुन्छ ।

व्यवसायीले खाद्य प्रयोगशालाको सिफारीश पेश गरे पछि निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर वाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल , बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ । बंगलादेशमा भने यो प्रणाली छैन् ।

नेपालमा उत्पादित मुसुरो विशेषगरी बंगलादेश मात्रै निर्यात हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाली सरकारी अधिकारीहरुको भनाई छ ।

‘बंगलादेशमा झण्डै १८ करोड भन्दा बढी जनसंख्या छ’ प्रमुख भन्सार अधिकृत विश्वकर्माले भन्नुभयो—‘ अनि नेपालमा उत्पादित मुसुरो दालको माग बढी भएपनि नेपालले बंगलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न सकेको छैन् । ’

बंगलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महशुल बुझाउनु नपर्ने, निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुदाँहुदैं नेपालले पर्याप्तरुपमा मुसुरो दालको निर्यात गर्न नसकेको नेपाली अधिकारीहरुको भनाई छ ।

नेपालमा उत्पादित दालले नेपाली बजार धान्न नसकेका कारण कहिले काहि भारतले मुसुरो दाल निर्यात गर्ने गरेको भन्सार अधिकारहिरुको भनाई छ । नेपालको केही केही बजार भारतबाट आयतित दालले ओगटेको नेपाली व्यवसायीहरुको भनाई छ । मुख्य गरी भारतबाट दाल आयात हुने भएपनि नेपालमा उत्पादित दाल बंगलादेश निर्यात हुने गर्छ । नेपालमा उत्पादित दाल गुणस्तरीय र स्वादिष्ट हुने भएकाले पनि बंगलादेश बढी निर्यात हुदैं आएको व्यवसायीहरुको भनाई छ । नजिक पर्ने भएकोले बंगलादेशले सकेसम्म दाल आयात गर्न चाहेको नेपाली दाल व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाकी सवै निर्यात हुने गरेको छ ।

दाल निर्यातले नेपालको बजारलाई नकरात्मक असर पारेको भन्दैं नेपाल सरकारले नेपालमा प्रयोग हुने सात प्रकारका दालको निकासीमा केहि वर्षअघि परिणात्मक प्रतिबन्ध लगाएको थियो । नेपालमा दालको उत्पादन कम भएका बखत नेपालमा उत्पादित दाल नेपालमै खपत होस भन्ने उद्देश्यले नेपाल सरकारले दाल निकासीमा परिणात्मक प्रतिबन्ध लगाएको नेपाली व्यवसायीको भनाई छ ।

छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंकाले नेपालसंग दाल निर्यात खुला गरिदिन आग्रह गरे लगत्तै केहि महिनामै नेपालले नेपालको बजारलाई नकरात्मक असर नपर्ने गरी मुसुरो दाल निकासीको अनुमति दिने प्रक्रिया सुरु गरेको थियो । नेपाली व्यवसायीहरुले पनि मिलमा मुसुरोको दाल थुप्रिएको भन्दैं प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गर्दै सरकारले प्रतिबन्ध खुला गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्