वाईसीएलका जिल्ला अध्यक्ष तरुण दलको उपसंयोजक



जाजरकोट, (नेस) ।

जाजरकोट माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग वाईसीएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका जिल्ला अध्यक्ष भीमबहादुर जिसीले माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसमा प्रवेश गरेका भीमबहादुर जिसीलाई काँग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले सदस्यता दिएर स्वागत गर्नुभएको हो । नेपालमा लोकतन्त्र देश जनताका अधिकार धरापमा परेको बेला काँग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आउने गरेकाले नेपाली काँग्रेस विचार सिद्धान्त र आस्थाका माध्यमबाट लोकतन्त्र समाजवादको लक्ष्य प्राप्तिमा जिसीको भूमिका उदाहरणीय रहने बताउँदै युवाहरू लामबद्ध भएर लोकतन्त्रको रक्षाका निम्ति काँग्रेसको बाटो रोजेको नेता शाहीले बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता मुक्तिप्रसाद आचार्य, जिल्ला सचिव खडक बिसी, नेपाल विद्यार्थी संघका अध्यक्ष ललित बस्तेत, शिक्षक संघका केन्द्रीय सदस्य धीरेन्द्र शाहलगायतको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसमा प्रवेश गरेका जिसीलाई तरुण विभाग कर्णाली प्रदेशको उपसंयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य तथा तरुण विभागका केन्द्रीय संयोजक शंकर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्