बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



काठमाडौं, (नेस) ।

आफ्नै बाबु र श्रीमतीको हत्या गरी छिमेकीको आँपको बगैंचामा लगेर गाडेको अभियोगमा धनुषाको मिथिलाविहारी नगरपालिका–५ ललिया बस्ने भागेश्वरकुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण भागेश्वरले सोमबार राती कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब सय मिटर टाढा रहेको आँपको बगैंचामा खाल्डो खनेर पुरेका थिए । खाल्डोभित्र घिरौलाको लहराले शव छोपिराखेको भन्ने खबर पाएको जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले खाल्डो उत्खनन् गर्दा उनीहरूको शव फेला पारेपछि भागेश्वरलाई पक्राउ गरेको हो ।

प्रहरीले ससुरा र बुहारीबीचको अनैतिक सम्बन्धको आशंकाले हत्या गरेको खुलासा गरेको छ । स्थानीयवासीका अनुसार एक वर्षअघि वैदेशिक रोजगारीका लागि गएका भागेश्वर केही दिनअघि घर आएका थिए । बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै श्रीमान् र श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्