नराम्रो अक्षरका कारण बैंक लुट्ने सपना चकनाचुर



लन्डन, (एजेन्सी)   ।

अस्पष्ट र खराब हस्तलेखनका कारण दक्षिणी इंग्ल्यान्डको एउटा बैंक लुट्ने लुटेराको सपना चकनाचुर भएको छ । ती लुटेराले लेखेर दिएको चिट बैंकका कर्मचारीहरूले पढ्न नसक्दा त्यो बैंक लुटिनबाट जोगिएको रोचक कुरा लन्डन प्रहरीले बताएको छ । गत मार्चमा इस्टबोर्नस्थित नेसनवाइड बिल्डिङ सोसाइटी ब्रान्चमा आफूलाई चुपचाप पैसा दिन भन्दै लेखिएको धम्कीपूर्ण सन्देश कर्मचारीहरूले ज्यान गए पनि बुझ्न नसकेपछि ६७ वर्षीय सरकारी नोकरीबाट अवकाशप्राप्त लुटेरा एलान स्लाटरी खाली हात त्यहाँबाट भाग्नुपरेको सेसेक्स प्रहरीले पुष्टि गरेको छ ।
उनले बैंकमै छाडेर गएको त्यो सन्देश लेखिएको कागज प्रहरीले ट्विटरमा अपलोड गरेको छ । उनले त्यसमा लेखेका थिए– ‘मसँग भएको चिजलाई तिम्रो स्क्रिनले रोक्न सक्तैन । चुपचाप मेरो हातमा पैसा राखिदेऊ । अन्य ग्राहकहरूबारे पनि सोच्नु ।’तर, अर्को महिना उनी सेन्ट लियोनार्डसस्थित एउटा नेसनवाइड ब्रान्चबाट २ हजार ४ सय पाउन्ड लुटेर भाग्न सफल भएका थिए । सेक्युरिटी फुटेजको आधारमा आफ्नै घर नजिकबाट पक्राउमा परेका उनलाई ६ वर्ष लामो कारावास सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्