महाकाली तुइन प्रकरण: बेपत्ता जयसिंहको खोजी जारी



बैतडी, (नेस) ।

महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता रहेका दार्चुला व्यासका जयसिंह धामीको खोजीकार्य बैतडीमा पनि चलिरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए ।

भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइनतर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुईन काट्दा जयसिंह बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।

महाकालीमा बेपत्ता रहेका जयसिंहको खोजीका लागि बैतडीमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । महाकाली नदी दार्चुला–बैतडी–डडेल्धुरा हुँदै कञ्चनपुर भएर बग्ने गर्दछ । ‘बगेर बेपत्ता भएका जयसिंह बैतडीस्थित महाकाली क्षेत्रमा पनि भेटिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको हो’, निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले भन्नुभयो– ‘महाकाली नदीकिनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर खोजी गरिरहेका छौं ।’

यसअघि घटनाको छानबिन गर्न सरकारले गठन गरेको समितिले गत साउन २६ गते बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफल समेत गरेको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त समितिले बेपत्ता रहेका जयसिंहको खोजतलासमा तीव्रता दिने विषयमा छलफल गरेको थियो । साथै उक्त समितिले सोही दिन बैतडीको महाकाली नदीकिनारमा रहेको झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो ।

बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमितरूपमा खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बेपत्ता भएको २२ दिनसम्म पनि जयसिंहको अवस्था अज्ञात रहेको छ । घर–परिवारले भने जयसिंहको कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्