भारतमा डीएनएमा आधारित कोरोना खोप



नयाँदिल्ली, (एजेन्सी) ।

भारतको औषधि नियामक निकायले विश्वकै पहिलो डीएनएमा आधारित कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको छ । तीन डोज लगाउनुपर्ने सुईरहितको यस खोपलाई औषधि निर्माण कम्पनी जायडस क्याडिलाले विकास गरेको हो । यस कम्पनीले भारतमा १२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीलाई समेत खोप लगाउने अनुमति प्राप्त गर्ने यो पहिलो खोप भएको दाबी पनि गरेको छ ।

‘जाइकोभ–डी’ नामक यस कोरोना भाइरसको स्पाइक प्रोटिन निकाल्ने र त्यसले कोरोना भाइरसविरुद्ध लड्न मानव शरीरमा क्षमता वृद्धि गर्ने कम्पनीले जनाएको छ । यसको प्रभावकारिता ६७ प्रतिशत रहेको बताइएको छ । भारतमा अनुमोदन प्राप्त गर्ने कोरोना विरुद्धको यो छैंटौं खोप हो । यो सबैभन्दा खतरनाक डेल्टा भेरियन्टलगायत अन्य भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको बताइएको छ ।

जोहन हप्किन्स युनिभर्सिटीका अनुसार कुल जनसंख्याको करिब ९ दशमलव ३० प्रतिशत भारतीयले पूर्णरूपमा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्