‘मिल्ती’ हुन नसकेको बनियागाउँ



नेपाल समाचारपत्र, बाँके ।

गाउँलेका बीचमा वर्षौदेखि मिल्ती थियो । एक–अर्कामा सहयोग आदान प्रदान हुन्थ्यो । काँदु, अहिर, यादव, गुप्ता थरले भरिएको गाउँमा मेलमिलाप थियो ।

जानकी गाउँपालिका वडा नं. ५, बनियागाउँमा दश महिनाअघि एउटा जघन्य अपराध भयो । त्यसपछि गाउँमा शान्ति हराएको छ । गाउँलेका बीचमा डरत्रास छाएको छ । २०७७ साल कात्तिक १५ गते गुरुवा गाउँमा लागेको मेलामा भएको झगडाले उग्ररुप लिएपछि गाउँले दुईतिर बाँडिन पुगेका थिए । मेलामा छोरा बाबुराम अहिरसँगको सामान्य झगडालाई लिएर एक पक्षले भैंसी चराएर फर्किदै गरेका उनका बुवा ५४ वर्षीय धनिराम अहिरलाई कुटपिट गरेर हत्या गरिदिएपछि गाउँमा सद्भाव बिथोलिएको छ । एक पक्षले अर्को पक्षलाई दुश्मन देख्न थालेका छन् ।

घटनापछि प्रहरीले २० जनाविरुद्ध कर्तब्य ज्यानमा मुद्दा चलायो । सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । जिल्ला अदालतले कर्तब्य ज्यानमा पाँच जना र ज्यान मार्ने उद्योगका दुई जनालाई थुनामा पठाएको छ । कर्तब्य ज्यानमा रामविनोद अहिर, गोपाल काँदु, नरेश गुप्ता, राजेन्द्र काँदु, चेतराम काँदु र उद्योगमा रामवरण यादव र विनोद काँदु जेलमा रहेका छन् ।

मृतकका छोरा सियाराम अहिर (सीताराम) का अनुसार, घटनाका मुख्य मान्छे धरौटीमा छुटेका छन् । मुख्य मान्छे धरौटीमा छुट्दा आफ्नो परिवारमा त्रास बढेको सियारामले बताउनुभयो । सियाराम बर्खीमा छन् । उनको पहिरन पुरै सेतो छ । अदालत परिसरमा भेटिएका सियारामले भन्नुभयो– ‘म साँझपख र राती घरबाहिर निस्किदैन । जति लामो बत्ती (विजुली) काटिए पनि घरभित्रै बस्छु । सेतो कपडा लगाएको मान्छेलाई टाढैबाट चिन्ने भएकाले ममाथि आक्रमण हुन सक्छ । धरौटीमा छुटेका मुख्य अभियुक्तहरुले आफूहरु जसरी पनि जेल जानै पर्ने भएकाले बुवालाई जसरी मलाई पनि मारेर जाने धम्की दिइरहेका छन् ।’

गाउँमा अभियुक्त भनिएकाबाट मात्रै होइन, पीडिततर्फबाट डर रहेको गाउँलेहरु बताउँछन् । जेल परेका या धरौटीमा छुटेका परिवारलाई ‘बदला’ लिने हुन् कि भन्ने डर रहेको छ । स्थानीय कृपाराम काँदुले घटनापछि चार घरपरिवार गाउँबाट विस्थापित भएको बताउनुभयो ।

विकासले पछि परेको गाउँ हो, बनियागाउँ । पालिकाबाट बजेट ल्याएर विकास गर्ने कुरामा कसले ‘जस’ लिने भन्ने कुराले विवादको शुरुवात गरेको थियो । गाउँको विकासमा सियाराम अगाडि सरेपछि आज्ञाराम यादव, दिनेश काँदुहरु रिसाएका थिए । एउटै पार्टीमा रहेका आज्ञाराम र दिनेशका बीचमा २०७४ सालमा वडाध्यक्ष उम्मेदवार बन्ने विषयमा विवाद थियो । सियाराम अगाडि आएपछि उनीहरु एक भएका थिए । झगडाको यो एउटा पाटो थियो ।

पूर्णिमाको मेलामा सियारामका भाई बाबुराम र आज्ञारामहरुका बीचमा भएको झगडाले त्यो दिनको घटना निम्त्याएको थियो । बाबुरामलाई लखेट्दै आएका मानिसले उनका बुवा धनिरामलाई कुटपिट गरेका थिए । यो घटनामा कुन्ना खटिक, लंकाजीत यादव, दिलबहार बागवान, भगवती कुर्मी, प्रमोद यादव, बैठुकी यादव, सहजराम यादव घाइते भएका थिए ।

अहिले गाउँमा एउटासँग अर्को डराउने अवस्था रहेको छ । जिल्लाबाट मुद्दा उच्च अदालतमा पुगेको छ । मुख्य अभियुक्तलाई सजाय हुने र निर्दोष छुट्ने वातावरण बनेमा गाउँ फेरि विस्तारै मेलमिलापतिर जाने अगुवाहरु बताउँछन् । मेलमिलापकर्ताका अनुसार, कुनै झगडा वा कुटपिटमा मुख्य व्यक्ति दुई/चार जना हुन्छन् । मुख्य व्यक्ति र उनका सहयोगीलाई कारबाही हुनुपर्छ । गाउँका धेरै मान्छेलाई मुद्दा चलाइँदा तुष पलाउने र गाउँमा अशान्ति भइरहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्