यारोभाया कानुनअन्तर्गत रुसी योगा गुरु पक्राउ



मस्को ।

रसियाका एक जना योगा गुरुलाई अवैधरूपमा धार्मिक तथा दर्शन प्रचार कार्यमा लागेको अभियोग लगाइएको छ । पेसाले कम्प्युटर प्रोग्रामर पनि रहेका दिमित्री उगेलाई प्रहरीले गत अक्टोबरमा आतंकवादविरुद्धको विवादास्पद नयाँ कानुनअन्तर्गत सेन्ट पिटर्सबर्गबाट पक्राउ गरेको थियो ।

एउटा फेस्टिभलमा योगाभन्दा बाहिरिएर जीवन दर्शनबारे प्रवचन दिइरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको थियो । तर, उगेले आफ्नो गल्तीबारे कुनै जानकारी नै नदिई आफूलाई ४० मिनेटसम्म बोल्नै नदिएर एउटा कारमा कोचेर प्रहरी चौकी लगिएको गुनासो गरेका छन् ।

नयाँ कानुन यारोभायाका अनुसार ४४ वर्षीय उगेलाई अहिले त्यसरी धर्म तथा दर्शन प्रचार गतिविधि सञ्चालन गरेको अभियोगमा अदालतले जरिवाना सजाय तोक्न सक्ने बताइएको छ । यस कानुनकी लेखिका तथा विधायिका इरिना यारोभायाबाटै कानुनको नामाकरण गरिएको हो । सेन्टबर्गस्थित अदालतमा उगेकोको मुद्दाको सुनवाइ आगामी सातासम्मका लागि मुल्तवीमा राखिएको सरकारी समाचार निकाय राप्सीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुलाईमा यारोभाया कानुन पारित गरेका थिए ।
रसियामा योगाको ठूलो माग र आकर्षण रहेको छ । प्रधानमन्त्री दिमित्री मेदभेदेभसमेत नियमित योगा गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्