राष्ट्रपतिका छोराको विवाहमा उपस्थित पाहुनाका विमानले धावनमार्ग भरियो



अबुजा ।

नाइजेरियाका राष्ट्रपतिका छोरा र एकजना प्रभावशाली धार्मिक तथा परम्परागत नेताकी छोरीबीच हुन लागेको विवाहमा भाग लिन आएका नाइजेरियाका सम्भ्रान्त र पश्चिमी अफ्रिकी प्रतिष्ठित व्यक्तित्वहरूको निजी विमानले अहिले उत्तरी नाइजेरियाली शहर कानोस्थित विमानस्थलको धावनमार्ग भरिएको छ ।

युसुफ बुहारी र जाहिरा नासिर बाएरोबीच हुन गइरहेको यस विवाहलाई नाइजेरियाकै यस वर्षकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ । कानो राज्यको एक शहर अमिर अफ बिचीस्थित भव्य दरबारमा आयोजित सो विवाह कार्यक्रममा हजारौं विशिष्ट पाहुनाको उपस्थिति रहेको थियो । एक जना इतिहासकारले यस दुलहा–दुलहीको भेट बेलायतको युनिभर्सिटी अफ सर्रीमा भएको बीबीसीलाई बताएका छन् ।

शनिबारसम्म जारी रहेको उक्त वैवाहिक समारोहका क्रममा दुलहीका पिता नासिर एडो बाएरोलाई औपचारिकरूपमा अमिर अफ बिचीको ताज पहिराइएको थियो । उनका दाजु अमिर अफ कानो नाइजेरियाको सबैभन्दा प्रभावशाली इस्लामिक नेतामध्ये एक हुन् । तर, ताज पहिर्‍याउने कार्यक्रममा नवविवाहित जोडीको भने उपस्थिति थिएन ।

दुलहा पक्षले परम्परागतरूपमा दुलहीको मूल्य तोक्ने क्रममा दुलहीको परिवारलाई पाँच लाख नाइरा अर्थात् १ हजार २ सय अमेरिकी डलर तिरेको थियो । उत्तरी नाइजेरियाको प्रचलित औसत मूल्यको तुलनामा यो रकम करिब १० गुणा बढी रहेको बताइएकोे छ ।

बीबीसीका पत्रकार इसाक खालिदका अनुसार विवाहपूर्व सामाजिक सञ्जालमा राखिएका दुलहीका तस्वीरहरू विवादास्पद बनेका थिए । ती तस्वीरमा उनले लगाएका पोसाक भद्दा भएको प्रतिक्रियाहरू प्राप्त भएको थियो । उनको काँध नछोपिएको कुरालाई विवाद बनाइएको थियो । धावनमार्गमा पाहुनाका सयभन्दा बढी जेट विमान अवतरण भएको खबर सार्वजनिक भए पनि एक सूत्रले धावनमार्गमा ५० वटाभन्दा कम विमान मात्र देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्