तालिवानी लडाकु अमेरिकी सैन्य पोसाक र हतियारले सुस्सजित



काबुल ।

तालिवानी लडाकु समूहले आफ्ना लडाकुहरूलाई अमेरिकी सैनिक पोसाक र अन्य उपकरण लगाउन दिएको एउटा प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ । तिनीहरू मैदान छाडेर भागेका अफगान सेनाले छाडेका अर्बौं अमेरिकी डलर मूल्यबराबरका अमेरिकी सैन्य उपकरणहरू हात पारेका छन् ।

हालै, राजधानी काबुलको पुल–ई–खिस्टी मस्जिदमा अन्तर्राष्ट्रिय आतंककारी खलिल हक्कानीले ठूलो जनसमूहका सामु धार्मिक प्रवचन दिने क्रममा अमेरिकी एसल्ट राइफल बोकेको देखिन्छ ।

त्यसैगरी, तालिवानले सार्वजनिक गरेको एक प्रोपोगान्डा भिडियोमा अमेरिकामा बनेका एसल्ट राइफल बोकेका लडाकुहरूले चोरिएका अमेरिकी सैनिक पोसाक लगाएका देखिन्छन् । सो भिडियोमा काबुलका विभिन्न स्थानमा विशेष सुरक्षा व्यवस्था गर्न ‘बादरी ३१३’ नामक सुरक्षा गार्ड तैनाथ गरिएको पनि बताइएको छ ।

संगीतसमेत भरिएका यस्ता भिडियोहरू प्रोपोगान्डा च्यानलहरूले प्रसारण गरिरहेका छन् । बेलायती पत्रिका दि सनले टाउकोमा फेटा बाँधेर एके–४७ बोक्ने गरेका ती लडाकुहरू अहिले बुलेट प्रुफ भेस्ट, हेल्मेट, नाइट भिजन गगल्स लगाएर एम–४ र एम–१६ एसल्ट राइफल बोकिरहेको देख्न सकिने जनाएको छ ।

यसैगरी, अफगानिस्तानको इस्लामिक स्टेट (आईएस) समूहले आक्रमण गर्न सक्ने चेतावनीसहित आफ्ना नागरिकहरूलाई काबुल विमानस्थलबाट टाढै रहन आह्वान गरेको छ । साथै, अमेरिकी सरकारले तोकिएका व्यक्तिहरूले मात्र विमानस्थलबाट यात्रा गर्न सकिने पनि बताइएको छ । अमेरिकी रक्षा अधिकारीहरूले परिस्थितिको विकासक्रम हेरिरहेको तथा वैकल्पिक मार्ग खोजिरहेको पनि बताएका छन् । तर, आइएस समूहले अझैसम्म सार्वजनिकरूपमा काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन ।

आइतबार काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न ठेलमठेल हुँदा सात जना अफगान नागरिकको ज्यान गएको बेलायती सेनाले जनाएको छ । तालिवान समूहले मुलुक कब्जा गरेपछि तिनीहरूको मात्र नभई पछिल्लो समयमा आइएस समूहले समेत हमला गर्न सक्ने भयका कारण मुलुक छाड्ने अफगान जनताको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्