अमेरिकी बैंकमा रहेको अफगानिस्तानको २२ टन सुन रोक्का



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको जो बाइडेनको सरकारले अर्बौं अमरिकी डलरसम्म तालिवानको पहुँच पुग्न नदिन अमेरिकी बैंकहरूमा रहेका अफगानिस्तान सरकारका नगद तथा सुनको कारोबार रोकका गरेको छ । अमेरिकाको यस सम्पत्ति रोक्का अभियानभित्र न्युयोर्कको फेडरल रिजर्भ बैंकको सुन पनि परेको छ । अफगानिस्तानको केन्द्रीय बैंकका अनुसार सन् २०२० डिसेम्बरसम्मको तथ्यांकअनुसार न्युयोर्क बैंकमा मात्र अफगान सरकारको झन्डै २२ टन सुन डिपोजिट रहेको छ ।

लन्डन बुल्लिअन मार्केट एसोसियसन (एलबीएमए)ले अहिलेको प्रचलित अन्तर्राष्ट्रिय मूल्यअनुसार सो परिमाणको सुनको मूल्य १ अर्ब २५ करोड अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अफगानिस्तानको ऋण सापट लिने श्रोतहरूको पहुँच निलम्बन गरेको भोलिपल्ट अर्थात् बिहीबार अमेरिकाले यो कदम चालेको हो ।

गत २३ अगस्टमा आईएमएफले कोरोना भाइरस महामारीका कारण प्रभावित भएको अफगानिस्तानको अर्थतन्त्रलाई मद्दत पुर्‍याउने उद्देश्यले अफगानिस्तान सरकारलाई ३७ करोड डलर क्रेडिट सुविधा दिने तयारी गरेको थियो । अब सो क्रेडिट पनि रोकिने भएको छ । अमेरिकालगायत अन्य विभिन्न मुलुुकका अन्य बैंकहरूमा जम्मा गरिएको कुल सुनको परिमाणमध्ये न्युयोर्क बैंकमा राखिएको सुनको परिमाण १० प्रतिशतभन्दा बढी रहेको बताइएको छ ।

त्यसैगरी, डा अफगानिस्तानको नामले चिनिने केन्द्रीय बैंकमा गत जुन महिनासम्ममा अफगान सरकारको १० अर्ब डलर बराबरको सम्पत्ति जगेडा रहेको सो बैंकद्वारा प्रकाशित पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । विश्व बैंकका अनुसार सन् २०२० मा अफगानिस्तानको कुल गाहस्र्थ उत्पादन (जीडीपी) करिब २० अर्ब डलर रहेको थियो ।

अमेरिकी सरकारले तालिवानले अफगानिस्तानमा नियन्त्रण लिएको तीन वर्षपछि अर्थात् सन् १९९९ मा पनि अफगानिस्तानको सम्पत्ति रोक्का गरेको थियो । अमेरिकी सेनाले तालिवान सरकार अपदस्थ गरेपश्चात् अर्थात् सन् २००२ को जनवरीमा फेडरल रिजर्भ बैंक अफ न्युयोर्कले १९ करोड ३० लाख डलर बराबरको सुन र २ करोड ४० लाख डलर फुकुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्