आप्रवासी रोक्न ग्रिसले ४० किमि लामो पर्खाल बनायो



एथेन्स, (एजेन्सी) ।

अफगानिस्तानबाट आप्रवासीको भिड भित्रिने चिन्ताको कारण ग्रिसले टर्कीसँग जोडिएको आफ्ना सिमानामा अनुगमन प्रविधि प्रणालीसहितको चालिस किमि लामो पर्खाल निर्माण गरेको छ । ग्रिसको नागरिक सुरक्षा मन्त्री माइकलिस क्रिसोकोइदिसले एभ्रोस क्षेत्रको भ्रमणका क्रममा भनेका छन्– ‘हामी आप्रवासी समस्याका कारण आउन सक्ने सम्भावित नकारात्मक असर चुपचाप पर्खेर बस्न सक्दैनौं । हाम्रा सिमानाहरू पूर्णरूपमा बन्द रहनेछन् ।’

टर्कीले युरोपेली मुलुकहरूलाई अफगान आप्रवासीहरूको जिम्मेवारी लिन आह््वान गरेपछि क्रिसोकोइदिसको यो प्रतिक्रिया सार्वजनिक भएको हो । ग्रिक प्रधानमन्त्री क्रियाकोस मित्सोताकिसले तुर्केली राष्ट्रपति रिसिप तायिप एर्दोगानसँगको टेलिफोन वार्तामा भनेका छन्– ‘अहिलेको परिस्थितिमा अफगानिस्तान छाड्ने मानिसको संख्यामा तीव्र वृद्धि हुँदा सबैका लागि गम्भीर चुनौती हुनेछ । यदि, अफगानिस्तान र इरानमा आवश्यक कदमहरू नउठाइएको खण्डमा आप्रवासीको नयाँ लहर अवश्यसम्भावी छ । इस्लामिक लडाकु समूह तालिवानले छोटै समयमा अफगानिस्तानमाथि कब्जा जमाएपछि तिनीहरूको डरले मुलुक छाड्ने अफगान जनताको संख्या ठूलो रहेको छ ।

सन् २०१५ मा मध्यपूर्वको युद्ध र गरिबीका कारण १० लाखभन्दा बढी जनता टर्की हुँदै युरोपेली युनियन पुग्ने क्रममा ग्रिस आप्रवासी समस्याको अग्रमोर्चामा रहेको थियो । अहिले ग्रिसले अवैधरूपमा प्रवेश गर्ने कुनै पनि अफगान नागरिकलाई फर्काइने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्