तीन वर्षमाथिका बालबालिकाको खोप वा नेगेटिभ प्रमाण चाहिने



जेरुसेलम, (एजेन्सी) ।

कोरोना भाइरस संक्रमण समस्या निराकरणमा विश्वमै उदाहरणीय मुलुकको रूपमा चिनिएको इजरायलमा अबदेखि तीन वर्ष उमेरभन्दा माथिको बालबालिकाले पनि थुप्रै इन्डोर स्पेसमा प्रवेश गर्नुअघि खोप लिएको वा कोभिड–१९ परीक्षण परिणाम नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्ने भएको छ । रेस्टुरेन्ट, क्याफे, संग्रहालय, पुस्तकालय, जिमखाना र पौडी पोखरीमा प्रवेश गर्नका लागि यस्तो ‘ग्रिन पास’ आवश्यक हुने व्यवस्था गरिएको छ ।

तर, कुनै पसल वा मलमा सामान खरिदका लागि जान भने यस्तो बन्देज नहुने बताइएको छ । जिभ मेडिकल सेन्टरका निर्देशक सलमान जार्काले संसदीय समितिमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेको जानकारी दिएको जेरुसेलम पोस्टले जनाएको छ । उनले आगामी ६ सेप्टेम्बरमा आयोजना हुने यहुदीहरूको नयाँ वर्षको चाड रोस हासनाह नसकुन्जेल स्थिति अझ खतरनाक रहने चेतावनी पनि दिएका छन् ।

उनले यदि स्थितिमा सुधार नआएको खण्डमा घरभन्दा एक सय मिटरभन्दा पर जान नसक्नेगरी पहिलो र दोश्रो लकडाउनको जस्तो नियम पालना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र करिब ७ हजार ८ सय ७० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएको जानकारी दिएको छ ।

इजरायलमा अहिलेसम्म संक्रमणको कारण एक सय २० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्