भारतीय विधायक थारुरले पाए सफाइ



नयाँदिल्ली, (एजेन्सी) ।

भारतीय विधायक तथा संयुक्त राष्ट्र संघका लागि पूर्वकुटनीतिज्ञ शशि थारुरले आफ्नी पत्नीलाई आत्महत्या गर्न सहयोग पु¥याएको सम्बन्धी सम्पूर्ण आरोपबाट सफाइ पाएका छन् । सन् २०१४ को १७ जनवरीमा राजधानी दिल्लीस्थित एउटा पाँचतारे होटेलको आलिशान कोठाभित्र उनकी पत्नी सुनन्दा पुष्करलाई मृत अवस्थामा फेला पारिएको थियो । शुरूमा उनको मृत्युलाई आत्महत्याको रूपमा लिइएको थियो । पछि दिल्ली प्रहरीले उनको हत्या भएको जनाएको थियो ।

सन् २०१८ मा प्रहरीले थारुरलाई पत्नीलाई आत्महत्या गर्नुपर्ने स्थिति सिर्जना गरेको र पत्नीमाथि निर्मम अत्याचार गरेको अभियोग लगाइएको थियो । तर, उनले आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका थिए ।

अहिले आएर दिल्लीस्थित एक अदालतले सबुत प्रमाणको अभाव भएको भन्दै उनलाई सफाइ दिने निर्णय गरेको छ । अदालती कारवाहीको क्रममा बुधबार भर्चुअलमा अदालत उपस्थित भएका थिए । उनले यस निर्णयका लागि अदालतलाई धन्यवाद दिएका छन् ।

लाइभ ल वेबसाइटका अनुसार उनले साढे सात वर्षदेखिको यातना समाप्त गरिएकोमा आफू निकै कृतज्ञ भएको बताएका छन् ।

थारुर दक्षिणी भारतीय राज्य केरलाका भारतको प्रमुख प्रतिपक्षी पार्टी कंग्रेसका विधायक हुन् । कुटनीतिको २५ वर्ष लामो अनुभव सँगालेका उनले सञ्चार तथा जनसूचनाका लागि संयुक्त राष्ट्र संघका सहायक महासचिवको हैसियतले काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्