नक्कली कोभिसिल्ड खोप भेटियो : डब्ल्युएचओ



न्युयोर्क, (एजेन्सी) ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड–१९ विरुद्धको भारतीय खोप कोभिसिल्डको नक्कली संस्करण फेला पारेको दाबी गरेको छ । डब्ल्यूएचओले जुलाई र अगस्टको बीचमा स्थानीय निकायहरूले भारत र अफ्रिकामा यस्ता खोप जफत गरेको दाबी गरेको छ । साथै, डब्ल्यूएचओले कोभिसिल्डका निर्माता सेरम इन्सिटच्युट अफ इन्डियाले जफत गरिएका ती खोप नक्कली नै भएको पुष्टि गरेको पनि जनाएको छ ।

डब्ल्युएचओले नक्कली खोपका कारण विश्वका जनस्वास्थ्य गम्भीर खतरामा पर्ने चेतावनी दिएका छन् । साथ यस्ता नक्कली खोप बिक्रि वितरण हुन नदिन यथासम्भव कोसिस गरिनुपर्ने जनाइएको छ ।

भारतीय सरकारले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिइसकेको छैन । तर, स्थानीय सञ्चारमाध्यमले भने भारतको स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

नाम नखुलाइएका एकजना भारतीय स्वास्थ्य अधिकारीले मिन्ट नयुज वेबसाइटलाई भनेका छन्– ‘यद्यपि, हामीसँग यस्ता घटना घट्न नदिने सशक्त प्रणाली छ । तर, यस्ता नक्कली खोप पाइएको कुरा सुन्नमा आए पनि हामी कुनै पनि भारतीयले नक्कली खोप लगाउनु नपरेको आश्वस्त पार्न चाहन्छौं ।’

कोभिसिल्ड एस्ट्राजेनेका खोपको भारतीय संस्करण हो । भारतमा ४८ करोड ६० लाखभन्दा बढी व्यक्तिले यो खोप लगाइसकेका छन् । सम्बन्धित सरकारसँगको विविध समझौता एवं गरिब मुलुकहरूका लागि विश्वव्यापी कोभ्याक्स कार्यक्रमअन्तर्गत सेरमले एसिया, अफ्रिका र दक्षिण अमेरिकामा लाखौं डोज कोभिसिल्ड आपूर्ति गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्