राष्ट्रपति घानीले मुलुक छाड्नुको कारण बताए, विमानस्थल तनावग्रस्त



काबुल, (एजेन्सी) ।

तालिवान लडाकु समूहले अन्ततः अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि अफगान राष्ट्रपति असरफ घानी मुलुक छाडेर आइतबार अज्ञात स्थानतर्फ गएका छन् । यद्यपि, एउटा समाचार सूत्रले उनी उज्वेकिस्तानतर्फ गएको जनाएको छ ।

आइतबार राति नै घानीले यदि आफू त्यहीँ बसिरहेको खण्डमा धेरै अफगान जनताको ज्यान जान सक्ने र अनियन्त्रित हिंसात्मक स्थिति सिर्जना हुने भएकाले आफूले मुलुकै छाड्ने निर्णय गरेको बताएका छन् ।

अनलाइनमा सार्वजनिक भएको पास्तो भाषामा लेखिएको उनको भनाइलाई गुगलमार्फत अनुवाद गरिएको छ । उनले भनेका छन्– ‘आज मेरो सामु निकै जटिल निर्णय गर्नुपर्ने स्थिति आएको छ । कि मैले मेरो किल्लामा प्रवेश गर्न चाहने सशस्त्र तालिवानको सामना गर्नुपर्छ कि त विगत २० वर्षदेखि आफ्नो जीवनै समर्पित गरेर रक्षा गर्दै आएको मुलुक छोडेर जानुपर्छ । हिंसात्मक स्थिति आएको खण्डमा असंख्य देशभक्त शहीद बन्ने, ६० लाख व्यक्तिको बसोबास रहेको राजधानी शहर काबुल ध्वस्त हुन तथा मानवीय स्थिति अत्यन्तै नाजुक बन्ने निश्चित थियो । तालिवानले तरबार र बन्दुकको विचार जितेको छ । अब सम्पत्ति र आफ्ना स्वदेशी दाजुभाइ तथा दिदीबहिनीहरूको सम्मान र रक्षा गर्नु तिनीहरूको जिम्मेवारी हो ।’

तर, यस्तै, जटिल परिस्थितिमा देश छाडेकोमा अफगान राष्ट्रिय मेलमिलाप परिषद्का नेता अब्दुल्ला अब्दुल्लाहले भने घानीको आलोचना गर्दै भगवान्ले उनलाई यसको जवाफ माग्ने बताएका छन् ।

सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति रहँदै आएका घानीले तालिवानलाई आफ्नो सरकारका लागि वैधानिकता प्राप्त गर्न आह्वान गरेका छन् ।

यसैबीच, अमेरिकी सैनिक र विदेशी नागरिकहरूले अफगान भूमि छाड्दै गरेका दृश्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमले निरन्तर प्रसारण गरिरहेका छन् । अमेरिकी वायुसेनाको विमानले काबुल विमानस्थल छाड्दा हजारौं अफगानीले घेरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । जसरी भए पनि तालिवानका हातबाट आफ्नो ज्यान जोगाउने उद्दश्यले यसरी जर्बजस्ती विमान चढ्न भागदौड मच्चाउनेमाथि अमेरिकी फौजले गोली चलाउँदा पाँच व्यक्तिको ज्यान गएको छ ।

अफगानिस्तानको बदलिँदो राजनीतिक परिस्थितिलाई लिएर अन्तर्राष्ट्रिय जगतले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । तालिवानको यस सफलतालाई लिएर बेलायतले यसलार्ई ‘विश्वकै असफलता’ को संज्ञा दिएको छ । बेलायती रक्षामन्त्री बेन वालेसले अन्तर्राष्ट्रिय समुदाय असफल भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेन असफल भएको टिप्पणी गरेका छन् । साथै, उनले बाइडेनको राजीनामा मागेका छन् । ट्रम्पले भनेका छन्– ‘अमेरिकालाई यो घटनाले ठूलो धक्का दिएको छ । अमेरिका अब महाशक्ति नरहेकोसम्म भन्न थालिएको छ ।’

तालिवान अफगानिस्तानमा नियन्त्रण कायम गर्न सफल भएपछि चीन भने खुसी देखिएको छ । चिनियँँ विदेश मन्त्रालयको धारणा बाहिर ल्याउने ग्लोबल टाइम्सले अमेरिका असफल भएको तर्क गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनइङले चीन अफगानिस्तानसँग मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिन तयार भएको बताएकी छिन् । उनले चीनले अफगान जनताको अधिकारको सम्मान गर्नेसमेत बताइन् । ग्लोबल टाइम्सले नै चीन अफगानिस्तानको विविध पूर्वाधार क्षेत्रमा ठूलो धनराशि लगानी तयार गर्न इच्छुक रहेको संकेत पनि गरेको छ । विगतमा पनि तालिवानलाई साथ दिँदै आएका पाकिस्तान पनि तालिवानको उदयप्रति खुसी रहेको देखिएको छ ।

१५ अगस्टमा तालिवानले काबुल कब्जा गरेकै दिन तालिवान नेतासहितको एक टोली इस्लामावाद पुगेको छ । तिनीहरूकोे पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । तर, तालिवानले काबुल कब्जा गरेपछि भारतको कुनै पनि आधिकारिक भनाइ सार्वजनिक भएको छैन । सदैव भारतविरोधी देखिएका तालिवानहरूले भारतीय नागरिकमाथि आक्रमण गर्दै आएका छन् । अब भने भारतले अफगानिस्तानको पूर्वाधार विकासमा गरेको लगानी जोखिममा पर्न सक्ने खतरा पनि बढेको छ ।

यसैबीच, तालिवानले सत्ता कब्जा गरेपछि रुस पनि खुसी देखिएको छ । तर, रुसले खुलेरै त्यसबारे आधिकारिक प्रतिक्रिया भने दिएको छैन । रुसी राजदूत डिमिट्री झिर्नोभले मंगलबार तालिवानी नेतासँग भेट्ने कार्यक्रम तय भएको रुसी समाचार निकाय तासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्