कोभिड तेस्रो लहरको तयारीप्रति भारतका अधिकांश नागरिक विश्वस्त



इन्डिया न्युज नेटवर्क ।

सामुदायिक सामाजिक सञ्जालका अनुसार कोभिड महामारीको सम्भाव्य तेस्रो लहरलाई सम्हाल्न भारतले गरिरहेको तयारीप्रति ५८ प्रतिशत नागरिक विश्वस्त छन् ।

‘लोकल सर्कल’ नामक एक संस्थाले सन् २०२१ अगस्त–डिसेम्बर महिनामा देख्न सकिने महामारीको सम्भाव्य तेस्रो लहरलाई लिएर विविध प्रश्न सोधेको थियो । ८ हजार ८ सय ८० जना मानिसले यस सर्वेक्षणमा प्रतिक्रिया दिएका थिए ।

२६ प्रतिशत उत्तरदाताले तिनीहरू निकै विश्वस्त रहेको बताएका छन् । ३२ प्रतिशतले आफूहरू केही हदसम्म विश्वस्त रहेको बताए भने २५ प्रतिशतले कम विश्वस्त रहेको बताएका छन् । १३ प्रतिशतले कुनै विश्वास नभएको बताए भने ४ प्रतिशतले कुनै राय दिएनन् । लोकल सर्कलले एक प्रतिवेदन जारी गर्दै भनेको छ– ‘समग्ररूपमा ५८ प्रतिशत नागरिकले भारतको तयारीलाई लिएर विश्वास देखाएका छन् ।’

लोकल सर्कलले सन् २०२१ को मार्च महिनामा पनि यस्तै प्रकारको सर्वेक्षण गरेको थियो । त्यसबखत दोस्रो लहरको तयारीलाई लिएर प्रश्न गरिएको थियो । जम्मा ४१ प्रतिशत नागरिकले भारतले दोस्रो लहरलाई प्रभावकारी ढंगले सम्हाल्न सक्छ भनेर मत दिएका थिए ।

भारत अझै पनि महामारीको दोस्रो लहरबाट गुज्रिरहेको छ । र जनमानसमा महामारीको तेस्रो लहरलाई लिएर त्रास पनि पैदा भएको छ ।

सर्वेक्षणमा आउने एक वर्षमा कोभिड महामारीको बाबजुद भारतको अर्थव्यवस्था कस्तो हुने छ भनेर पनि प्रश्न गरिएको थियो । यस प्रश्नमा ११ हजार ८१ जनाले प्रतिक्रिया दिएका थिए । जसमध्ये ३३ प्रतिशतले भारतको अर्थव्यवस्था सुध्रिने र २०१९–२० को कुल गाहस्र्थ उत्पादन (जीडीपी) स्तरभन्दा माथि उक्लिने विश्वास देखाए ।

करिब ११ प्रतिशत उत्तरदाताले स्थिति सुधार हुने तर २०१९–२० को जीडीपी स्तरभन्दा माथि नजाने बताएका थिए । लोकलसर्कलले जनाएअनुसार ४ मध्ये ३ जना भारतीय नागरिकले भारतीय स्वतन्त्रता दिवसको ७५औं वार्षिकोत्सव पूरा नहुँदै भारतको अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

तर, कतिपय भारतीय नागरिक भने भारतमा नयाँ रोजगार सिर्जना हुने, उद्यमशीलता वृद्धि हुनेमा विश्वस्त थिएनन् ।

सन् २०१८ र २०१९ मा यही प्रश्नमा ३५ प्रतिशत भारतीयले देशमा रोजगारी सिर्जना हुने र उद्यमशीलताका अवसरमा वृद्धि हुनेमा विश्वास व्यक्त गरेका थिए । सन् २०२० को सर्वेक्षणमा उक्त प्रतिशत घटेर ३१ पुग्यो र हाल यो तथ्यांक २६ प्रतिशतमा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्