कोरोनाकै कारण खाली बस्नुपरेको छैन : शुभेच्छा थापा



गायिका, निर्मात्री, लेखिका, निर्देशक, प्रोग्राम होस्ट, थुप्रै छन् शुभेच्छा थापाको परिचय। कुशल अभिनय गर्न खप्पिस शुभेच्छाले दुई दशक लामो समयबाट रंगमञ्चदेखि सानो र ठूलो पर्दाका फिल्मसम्म ग्रामीण युवतीदेखि बोल्ड नायिकासम्मको अभिनय गरेर दर्शकको मन जित्दै आएकी छिन्। १० वर्षको उमेरबाटै नाटकमा अभिनय गर्न थालेकी शुभेच्छाले १९ वर्ष अगाडि निर्देशक बद्रि अधिकारीको टेलिसिरियल सहयात्रीमा अभिनय गरेपछि उनको अभिनय करियरले गति लियो। सहयात्रीपछि उनलाई टेलिसिरियलहरूबाट भटाभट अफर आउन थाले।

त्यसपछि शुभेच्छाले धु्रवतारा नामक फिल्ममा नायिकाको रूपमा अभिनय गरिन्। त्यसमा गरेको अभिनयपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। लगातार क्रोध, बदमास, आँधी तुफान, अग्निज्वाला, प्रहार, कन्यादान, चिनो, मृत्युदण्ड, काठमाण्डु, मंगलसूत्र, मिस नेपाल, मेरो एउटा सपना छ, निर्जला, दामिनी, आजका युवा, डेस्टिनेसन काठमाडौं, मखमली, मखमली–२, कब्जा, विन्दास–३, दिलदार, शिवम, को हुँ मजस्ता झन्डै तीन दर्जन फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएकी छिन्। त्यसबाहेक हिजो अनि भोलि, अतीत, सायद त्यो दिन, द कलेज, यातना, खुशी पलभरको, जीवन चक्र, घुस पुराण, यहाँको चलन, बुद्धको देश, कलेजी, लाखौं हजारमाजस्ता डेढ दर्जन बढी टेलिफिल्ममा अभिनय गरेर काँचको पर्दाका दर्शकलाई मोहित तुल्याउन शुभेच्छाले होम प्रोडक्सन शुभेच्छा सिने फ्रेम प्रालिबाट पति अनिल थापाका साथ को हुँ म, मिस नेपाल, मखमली, लक्ष्मी रानी, टाइगर : द रियल हिरो, बिन्दास ३ जस्ता फिल्म निर्माण गरेकी छिन्। अभिनय क्षेत्रबाट पाएको अनुभवलाई पर्दामा उतार्न लक्ष्मी रानी नामक फिल्मबाट निर्देशन यात्रा पनि शुरू गरिन्। अभिनय, फिल्म निर्माण र निर्देशनसँगै केही नाटक, टेलिफिल्म र फिल्मको स्क्रिप्ट लेखेर आफूलाई बहुप्रतिभाशाली व्यक्तिका रूपमा उभ्याउन सफल उनले अभिनय र नृत्य गरेका २ दर्जन म्युजिक भिडियो युट्युब र विद्युतीय सञ्चार माध्यममा छाएका छन्। उनले अभिन क्षमताकै कारण उत्कृष्ट नायिका विधामा नेसनल डि सिने अवार्ड, बक्स अफिस अवार्ड, नेसनल इन्टरटेनमेन्ट अवार्ड २०७७, हिमालयन इन्टरनेसनल अवार्ड २०२१ जस्ता अवार्ड चुमेकी छिन् भने विभिन्न मान सम्मानबाट सम्मानितसमेत हुँदै आएकी छिन्। उनै शुभेच्छासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

अहिले कोभिडबाट बच्नु पनि पर्ने र काममा सक्रिय पनि भइरहनुपर्ने स्थिति छ। कलाकार भइसकेपछि यस्तो बेलामा सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्ने कर्तव्य महसुस गर्दै किन्न नसक्नेहरूलाई मास्क बाँड्ने, कोरोना भाइरसप्रति सचेतना अपनाउन विभिन्न कार्य गर्ने, औषधि वितरण गर्ने र कोरोनाको खोप लगाइएको स्थानमा कस्तो अवस्था छ, ती कुरामा रिसर्चको काम पनि गरिरहेकी छु। आफ्नो क्षेत्रका दुःखमा परेकालाई सामाजिक कार्यमार्फत डोनेसन पनि गरिरहेको छु। असहजताबीच पनि सिरियल, म्युजिक भिडियो, अमर प्रेमजस्ता ठूलो फिल्मको काम गरिरहेकी छु।

कोरोना र लकडाउनका कारण करिअरमा कत्तिको प्रभाव परेको छ ?

अन्य क्षेत्र जस्तै फिल्म क्षेत्र पनि कोरोना महामारीको नराम्रो चपेटामा परेको छ। सरकारले तोकेको क्राइटेरियाअनुसार काम गर्न धेरै असहजता भए पनि काममा भने तिरन्तरता दिइरहेको छु, कोरोनाका कारण खाली बस्नुपरेको छैन। सुरक्षाको मापदण्ड पालना गरेर रमाइलो टीभीबाट प्रसारण हुने पारिवारिक सिरियल कुल खानदानमा काम गरियो। नेपाल टेलिभिजनबाट प्रसारण हुने आमा सबैकी र दुई स्वास्नीकी पोइ कुना पसी रोईजस्ता सिरियलमा काम गरियो। अमर प्रेम नामक फिल्मको सुटिङ गरेँ, म्युजिक भिडियोहरू पनि गरिरहेकी छु। कोरोना वा बीचमा लकडाउन नभएको भए मसँग १०/१५ ओटा फिल्मको लाइन हुन्थ्यो। तीमध्ये छानेर ४÷५ ओटा फिल्ममा काम गरिरहेको हुन्थें। तर, कोरोनाका कारण फिल्म क्षेत्र अहिले सुस्ताएको छ। जसले गर्दा सोचे जति फिल्ममा काम गर्न पाइएको छैन। धमाधम फिल्मको काम भएको भए कमाई पनि राम्रो हुन्थ्यो। पहिले–पहिले फिल्म खेलेर कमाइ पनि रहेको थिएँ र कमाएको पैसा फिल्ममै लगानी गरेको पनि हो। त्यस्तै, टेक्निसियनदेखि लिएर दुःखमा परेका भाइबहिनीलाई सहयोग गरेको पनि हो। यसरी हेर्दा आफ्नो काम गरेको क्षेत्रभन्दा पर गएको छैन। धेरै फिल्ममा काम गर्नुभन्दा थोरै तर राम्रा फिल्ममा काम गर्नु ठीक लाग्छ।

फिल्म छान्दा गर्दा के कुरामा ध्यान दिनुहुन्छ ?

अफर आएका फिल्ममा मलाई म्याच हुने क्यारेक्टर छ या छैन भनेर हेर्छु। त्यसपछि कथा वस्तु कस्तो छ, कुन विषयमा छ, त्यसले समाजमा कस्तो इम्प्याक्ट पार्छ, फिल्म हेरेर एक छिन हाँस्ने मात्र हो कि त्यसले दर्शकलाई केही सन्देश पनि दिन्छ भन्ने कुरामा ध्यान दिने गरेको छु।

दुई दशकको करिअरलाई कसरी सम्झनुहुन्छ ?

त्यो बेला र अहिले हेर्दा आफूलाई प्रगतिको बाटोमा देख्छु। म एकै चोटी ठूलो कम्पनीबाट हिरोइन भएर आएको होइन। सानो रोलबाट शुरू गर्दै लिड रोलमा खेलेकी हुँ। सानो रोल गर्दागर्दै प्रोड्युसरहरूले विश्वास गरेर ठूलो फिल्ममा पनि अफर गर्न थाल्नुभयो। लिड क्यारेक्टरमा खेल्दा खेल्दै फिल्म निर्माता बनेँ, त्यसपछि निर्देशन पनि गरेँ। यसरी हेर्दा आफूले आफूलाई रिचनेस भएको, हाई लेवलमा पुगेको महसुस हन्छ। जसरी फिल्म क्षेत्रले मलाई साथ दिँदै यहाँसम्म ल्यायो, त्योअनुसार मैले पनि आफूले यो क्षेत्रका लागि केही दिन सकेको महसुस हुन्छ। त्यस्तै, यो क्षेत्रमा काम गरेर मैले केही अवार्ड तथा सम्मान पनि पाएँ, यस्तो कुराले यस क्षेत्रका लागि केही गर्न अझ बढी हौसला मिल्छ।

फिल्म क्षेत्रमा आउने क्रममा कस्ता–कस्ता संघर्ष गर्नुपर्‍यो ?

नयाँ कलाकारले एकैचोटी ठूलो रोलमा खेल्नको लागि कि त पैसा इन्भेस्ट गर्नुपर्‍यो,  कि त आफ्नो मान्छेले फिल्म बनाउनुपर्‍यो, कि कसैले यो रोलमा यो कलाकार ठीक छ भनेर रिस्क लिएरै फिल्ममा लिनुपर्‍यो। पहिलोचोटी फिल्म ध्रुवतारामा रिस्क लिएर मलाई लिड रोल दिइएको थियो। नभन्दै फिल्मले राम्रो व्यापार गर्‍यो, त्यसपछि दोस्रो, तेस्रो गर्दैै फिल्म खेल्दै जाँदा दर्शकहरू मेरो फिल्म हेर्नकै लागि कोचाकोच गरेर हलमा जाने अवस्था पनि आयो। हलमा सिट नभएर भर्‍याङमा बसेर पनि हेर्नुहुन्थ्यो। म आफैँ पनि आफ्नो फिल्म हेर्न जाँदा दर्शक भिडका कारण भर्‍याङमा बस्नुपर्‍यो। यसरी सोच्दा मैले फिल्म प्रोड्युसरलाई केही रिटर्न दिएछु भन्ने महसुस हुन्छ। सानो ठूलो नभनी फिल्ममा काम गर्दै गएँ। म बद्रि अधिकारीको सहयात्री टेलिफिल्म खेल्न मात्र घरबाट निस्किएकी थिएँ, तर पछि यति बिजी भएँ कि घरै बस्न भ्याइएन। ८/१० वर्षसम्म त ४/५ वटा फरक फरक टेलिभिजन च्यानलका सिरियलमा म नै हुन्थें। प्रायः एड, प्रोमो, म्युजिक भिडियो आदिमा एकछत्र नै काम गरिरहेको हुन्थेँ।

एउटै मान्छे अभिनय, निर्माण, निर्देशन तथा लेखन विधामा हुनुहुन्छ, कसरी समय मिलाउनुहुन्छ?

एउटै फिल्डमा भएपछि त्यही नै सजिलो हुँदो रहेछ। निर्माण, अभिनय, निर्देशन, लेखन सबै एकै क्षेत्रको भएकोले एकै पटक काम गर्न पाएँ। टिमको सपोर्टका कारण कुनै कार्य गर्दा खासै असहज पनि भएन।

यी चार विधामध्ये रमाइलो र मज्जा अनि च्यालेन्जचाहिँ केमा छ ?

सबमा उस्तै रमाइलो अनि च्यालेन्ज छ।अभिनयमा पनि कम्पिटिसन हुने भयो, निर्माता बन्दा लगानी उठाउनुपर्ने च्यालेन्ज हुन्छ। त्यस्तै, स्क्रिप्टमा सम्पूर्ण कलाकारलाई बाँधेर ल्याउनुपर्छ। त्यो पनि च्यालेन्ज नै भयो। फिल्ममा सबै पात्रलाई न्याय गर्नुपर्ने र ती पात्रको सेन्टिमेन्ट आफूलाई मात्र थाहा हुने भएकोले डाइरेक्सनमा आएपछि झनै च्यालेन्जिङ बढ्यो। तर, चारैवटा विधामा काम गर्दा अप्ठेरो भने भएन, रमाइलो तरिकाले इन्जोय गर्दै काम गरेँ । फिल्म दर्शकसामु गएपछि र दर्शकले मन पराएपछि काम गर्दाको सबै दुःख बिर्सिईंदो रहेछ।

यीमध्ये सफलचाहिँ कुन विधामा छु जस्तो लाग्छ ?

सफलताचाहिँ कलाकारितामा नै हो। अभिनयकै कारण सर्वोत्कृष्ट नायिका विधाको अवार्ड पाएँ। तर, दर्शकको मायाको कुरा गर्दाचाहिँ चारै विधामा राम्रो भएकै कारण साथ पाएँ। बक्स अफिसमा पैसा उठाउन सफल भएँ। मैले बनाएको, निर्देशन गरेको फिल्म राम्रो निर्माण भएर न पैसा उठ्यो, मैले लेखेको स्क्रिप्ट पनि राम्रो भएर दर्शकले फिल्म हेर्नुभयो होला। मेरो निर्देशन राम्रो भएर फिल्म उत्कृष्ट बन्यो होला।

तपाईं खासमा कलाकार कि नायिका ?

साँच्चै भन्नुपर्दा नायिकाभन्दा पनि आफूलाई कलाकारभन्दा धेरै खुसी लाग्छ। हामीलाई हिरोइन भनिन्छ, तर कलाले ओतप्रोत भएपछि मात्र कलाकार बन्न सकिन्छ। मचाहिँ आफूलाई भर्सटाइल कलाकार भन्न रुचाउँछु। शायद मैले नगरेको कुनै रोल छैन। नवरसभित्र जति ओटा क्यारेक्टर आउँछ, ती सबै क्यारेक्टरभित्र भिजेर काम गर्ने मौका पाएकी छु। तर, अझै पनि नारी प्रधान फिल्म बनाउने र खेल्ने इच्छाचाहिँ बाँकी नै छ।

अभिनेत्रीका रूपमा तपाईंको कम्पिटिसन कोसँग छ ?

मेरो कम्पिटिटर कोही पनि छैन। आफूले आफैंसँग कम्पिटिसन गर्न मन लाग्छ। आफैंसँग बिजी हुने, आफूले गरेका कामहरू कुन लेभलसम्म लगेँ भनेर आफैंलाई क्वेइस्चन गर्न मन लाग्छ र त्यहीअनुसार अझ राम्रा काम गर्न मन लाग्छ।

निर्देशन गर्ने सोच कसरी आयो ?

फिल्म निर्देशन गर्ने सोच ८–१० वर्ष अघिदेखि नै थियो। फिल्म निर्माण गर्ने बेलामा पनि फिल्मको डबिङ, सम्पादनदेखि लिएर सम्पूर्ण काम स्टुडियोमा आफैँ बसेर हेर्थें। फिल्म खेल्दा पनि निर्देशकको चिफ असिस्टेन्टको रूपमा काम गर्थें। निर्देशन गर्छु भन्ने थियो, कहिले र कुन कथामा भन्ने कुरा फिक्स थिएन। आफूले सोचेको जस्तो स्टोरीको खोजीमा आफैंले कथा लेखेर लक्ष्मी रानी निर्देशन गरेँ।

निर्देशनलाई निरन्तरता दिनुहुन्छ ?

अहिले कोभिडका कारण फिल्ममा पछि परिरहेका छौं। केही साथीले सिरिजहरू गरिरहनुभएको छ। ती सिरिज कस्तो हुन्छ हेरौं भनेर पर्खिरहेको छु। निर्देशनको लागि वर्क आउट गरिरेको छु। स्क्रिप्टमा बसिरहेको छु। यदि, कोरोना थिएन भने लक्ष्मी रानी–२ मा एक्सन कट गरिरहेकी हुन्थेँ। यही सिक्वेल निर्माण र निर्देशन गर्ने तयारी गरिरहेको छु। कोरोना कहरपछि सामाजिक कथामा लक्ष्मी रानी–२ को सुटिङ गर्छु।’

गाउँले युवतीदेखि लिएर शहरको ग्ल्यामरस युवतीको रुपमा पनि अभिनय गरिरहनुभएको छ। सजिलो र रमाइलोचाहिँ केमा हुँदोरहेछ ?

दुवैमा सजिलो र अप्ठेरो पनि छ। पहिले पहिले केमा फिट हुन्छु भनेर सोच्थें। तर, अनुभव गर्दै जाँदा दुवैमा फिट हुने रहेछु। फिल्मको स्क्रिप्ट कस्तो र कलाकारलाई कसरी प्रेजेन्ट गर्ने, कसरी निर्देशन गर्ने भन्ने कुरामा पनि भर पर्दोरहेछ। यी दुवै रोलमा कतै पनि कम्प्लेन आएको छैन। फिल्म निर्जलामा गाउँले परिवेशमा स्ट्रगल गरिरहेको नारीको क्यारेक्टर गरेँ। मखमलीको मखमली भन्ने क्यारेक्टर पनि गाउँले हो, दर्शकले निकै मन पराउनुभयो। शहरिया परिवेशमा खेलेको मिस नेपाल पनि दर्शकले मन पराउनुभएको छ। तर, अझै पनि मलाई ग्रामीण युवतीका रूपमा अभिनय गर्ने इच्छा छ। शहरिया लाइफ त म जिइरहेको नै छु।

दर्शकले चाहिँ के रुचाउँदा रहेछन् ?

दर्शकले चाहिँ मलाई ग्ल्यामर रोलमा मन पराउनु हुँदोरहेछ। त्यसैले त दर्शकबाट हट एन्ड सेक्सी नायिकाको ट्याग पाएँ। दर्शकहरू अहिले पनि मिस नेपाल फिल्मको जस्तै क्यारेक्टरमा आउनुस् न भन्नुहुन्छ। भल्गर र ग्ल्यामर छुट्टै कुरा हो। ड्रेसअप गर्दा पनि भल्गर नगरेर ग्ल्यामर गर्दा दर्शकलाई मनपर्ने रहेछ।

मिस नेपाल भन्ने फिल्ममा कन्ट्रोभर्सी भयो नि, हैन ?

मिस नेपाल प्रतियोगिताको आयोजक संस्था हिडन ट्रेजरले फिल्मको नामप्रति अब्जेक्सन गरेको कारण कन्ट्रोभर्सीमा आएको थियो। हिडन ट्रेजरले यो टाइटलमा फिल्म बनाउन पाइँदैन भनेर विरोध ग¥यो। चलचित्र विकास बोर्डले फिल्म र इभेन्ट फरक हो फिल्म बनाउन पाइन्छ भनेपछि सुटिङ गरियो। त्यही ताका मैले पब्लिसिटी फन्डाका रूपमा माछाले शरीर ढाकेर फोटोशुट पनि गरेकी थिएँ। त्यो कुरामा पनि कन्ट्रोभर्सी आएपछि एक वर्षचाहिँ पूरै कन्ट्रोभर्सीमै बित्यो। त्यो फिल्मबाट मैले धेरै कुरा सहनुपर्‍यो।

लेखनमा चाहिँ कसरी आउनुभयो ?

सानैदेखि नै नाटकहरू लेख्ने गर्थें। साथीहरूले नाटकमा अभिनय गर्दा डाइलग याद गर्थें। ती डाइलग सुन्दा ओहो साहित्यिमक कुराहरू पढ्नुपर्छ, लेख्नुपर्छ भन्ने लाग्थ्यो। पछि फिल्म खेल्न थालेपछि पनि अरूले लेखेको स्क्रिप्ट हेर्दा कसैका लेखनले मन छुने, मिठो लाग्ने कसैकोमा चाहिँ कताकता यसमा दम छैन भन्ने लाग्थ्यो। त्यसै कारण फिल्म मखमलीको स्क्रिप्ट मैले लेखेको हो। मिस नेपाल फिल्मको पनि कथा मेरो हो। फिल्म बनाउने क्रममा लेखौँ न त भनेर सल्लाह गर्दै दुई चार सिन दुई चार सिन लेख्दै गएँ। गर्दा गर्दै स्टोरी आफैँ लेख्नुपर्छ भन्ने सोचेर लेख्न थालेँ।

जेठानी झरना थापा र तपाईं दुवै अभिनेत्री र निर्देशक हुनुहुन्छ। भतिजी सुहाना थापा पनि नायिका छिन्। तीनै जना एकै घरमा कस्तो माहोल हुन्छ ?

एकदम रमाइलो र फिल्मी माहोल हुन्छ। त्यसमाथि छोरी पनि हिरोइन भएकोले हाम्रो फिल्म क्षेत्र भन्ने भाव घरमा पनि हुन्छ। एक–अर्काको सपोर्ट हुन्छ।

कम्पिटिसन हुन्छ कि हुँदैन ?

एउटै घरमा त्यसमाथि एउटै क्षेत्र भएपछि कम्पिटिसन त भइहाल्छ, तर देखिनेगरी होइन, भित्रभित्रै कम्पिटिसन हुन्छ। ट्यालेन्टको कम्पिटिसन हुन्छ, तपाईंले कति राम्रो काम गर्नुभयो, त्योभन्दा राम्रो काम गर्न पाए हुन्थ्यो नि भन्ने खालको स्वच्छ कम्पिटिसन हुन्छ। उहाँको जस्तो फिल्म गर्न पाए हुन्थ्यो भन्ने खालको कम्पिटिसन हुन्छ।

अबको योजना के छ ?

राम्रो फिल्म बनाउने, अभिनय गर्ने। फिल्म लिएर देश विदेश घुम्ने तथा क्षमताअनुसार यही क्षेत्रमा जानेको काम गरेर यो क्षेत्रलाई थप माथि उठाउने योजना छ।

यस्तो अवस्थामा फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि के गर्नुपर्छ ?

सबैभन्दा पहिला त कोभिड नियन्त्रणमा ल्याउनका लागि खोप उपलब्ध गराउन पर्‍यो । कला क्षेत्रमा धेरै प्राविधिकहरू बेरोजगार छन्, उहाँहरूलाई सजिलो हुने गरी काम उपलब्ध गराउन र जीवनयापन गराउन सहज गराउन के–कस्तो गर्न सकिन्छ ,त्यसमा ध्यान दिनुपर्छ। यो अप्ठेरो माहोलमा सरकारले पनि कोभिडका लागि आएको डोनेसन फिल्म क्षेत्रका लागि पनि छु्ट्याउनुपर्छ। हामी फिल्मकर्मीले डिजिटल मार्केट र ओटीटी मार्केट बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्