१५० वर्ष पुरानो विवाहको प्रमाणपत्र भेटियो

22.75k
Shares

न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित एउटा पुराना बहुमूल्य वस्तुहरू बिक्री हुने स्टोरमा झन्डै एक सय वर्ष पुरानो विवाह दर्ता प्रमाणपत्र फेला परेको छ । त्यहाँका एक कर्मचारीले एउटा पुरानो तस्वीर सफा गर्ने क्रममा सो प्रमाणपत्र फ्रेमभित्र लुकाइएको अवस्थामा फेला पारेकी हुन् ।

उक्त स्टोरले उक्त ऐतिहासिक प्रमाणपत्र सम्बन्धित परिवारका सदस्यहरूलाई फर्काउने आशा राखेको छ । बोलिभिया शहरस्थित होप चेस्ट थ्रिफ्ट स्टोरमा कार्यरत कर्मचारी पाम फेल्प्सले भनेकी छन्– ‘म सन् १८८९ मा बनाइएको एउटी सानी फुच्ची र एउटा कुकुरको आकार झल्किने पेन्टिङ सफा गर्दै थिएँ । अचानक मैले फ्रेमभित्र यो प्रमाणपत्र फेला पारेँ ।’

सन् १८७५ मा जारी गरिएको यस प्रमाणपत्रमा न्युजर्सीको बोर्डेनटाउन निवासी दुलाहा र दुलही विलियम र क्याटीको नाम उल्लेख छ ।

सो थ्रिफ्ट स्टोर सञ्चालन गर्ने च्यारिटी होप हार्वर होमका कार्यकारिणी निर्देशक क्यारेन स्मिथले प्रमाणपत्रमा उल्लेखित दुलाहा–दुलहीको थर मेटिइसके पनि यसलाई तिनीहरूको परिवारसमक्ष पुर्‍याउन हरसम्भव प्रयास गरिने डब्ल्युडब्ल्युएवाई टेलिभिजनलाई बताएका छन् ।