टुल्सा, (एजेन्सी) ।
अमेरिकाको ओक्लोहामाको टुल्सास्थित अस्पतालमा एक बालिकाले शिशुको जन्म दिँदा एकजना २४ वर्षीय पुरुष र बालिकाकै आमा प्रहरीको फन्दामा परेका छन् । ती पुरुषले १२ वर्षीया बालिकालाई गर्भवती बनाएको स्विकारेका छन् ।
टुल्सा प्रहरी विभागका अनुसार १४ जुलाईको यस घटनालाई लिएर सम्भावित बलात्कारबारे अनुसन्धान शुरू गरिएको हो । प्रहरीका अनुसार हुवा–मिरान्डा–जाराले उनसँग गत वर्षको अक्टोबरदेखि यौन सम्पर्क हुन थालेको र बच्चाको पिता आफैँ भएको स्विकारेका छन् ।
मिरान्डा–जारालाई नाबालिगमाथि बलात्कार गरेको आशंकामा पक्राउ गरिएको छ । बालिकाकी आमा डरी क्यास्टानेडालाई पनि छोरीलाई बेवास्ता गरेको र उनीमाथि यौन उत्पीडन हुनसक्ने स्थिति सिर्जना गरेको अभियोगमा पक्राउ गरिएको छ । ती बालिकाका अन्य नातेदारलाई पनि बालिका र मिरान्डाबीचको गैरकानुनी सम्बन्धलाई नजर अन्दाज गरेको आरोप लगाइएको छ ।
प्रहरीका अनुसार ती बालिकाका पिता बलात्कारको अभियोगमा १२ वर्ष लामो कैद भुक्तान गर्दै छन् ।











प्रतिक्रिया