सााप्सुखोलामा निर्माण भएको पक्की पुल सञ्चालनमा आयो



रामधन राई, खोटाङ ।

खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्कीपुल सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा अवस्थित साप्सुखोलामा ५ करोड ६० लाख दश हजार रुपियाँ लागतमा पुल निर्माण गरिएको हो । २०७६ असारमा शिलान्यास गरिएको पुल निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेट खर्च भएको छ । पुल निर्माणको लागि स्थानीय सडक पुल सहयोग कार्यक्रम (एलआरबीपी)ले प्राविधिक सहयोग गरेको छ ।

गत जेठ १७ गते सम्पन्न गर्ने गरी २०७६ जेठ १७ गते सूर्य एन्ड सन्स प्रालिले निर्माणको जिम्मा लिएको ४० मिटर लामो उक्त पुल तोकिएको समयअगावै निर्माण भएको हो । पक्की पुल सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दालाई आवत जावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको दिपु्रङचुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

पुल सञ्चालनमा आएपछि आफ्नो गाउँपालिकासँगै दक्षिणी क्षेत्रमा विकासको मूल ढोका खुलेको अध्यक्ष राईको भनाइ छ । पुललाई मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोड्ने गरी निर्माण गरिएको छ ।

तराईका जिल्ला जोड्ने सडक खण्डअन्र्तगत दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै तीनवटा मोटरेबल पक्की पुलनिर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाइघाट सडक खण्डमा पर्ने रेग्मीटारस्थित साप्सुखोलामा एक नम्बर तथा दिक्तेल र मात्तिम जोड्ने साप्सु खोलामा दुई नम्बर मोटरेबल पक्की पुल यसअघि नै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्