इरानमाथि ट्यांकर आक्रमणको दोष



लन्डन, (एजेन्सी) ।

संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका दुवैले एउटा ट्यांकरमाथि गरिएको आक्रमणको पछाडि इरानको हात रहेको विश्वास प्रकट गर्दै यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको दाबीसमेत गरेका छन् । इजरायली कम्पनीबाट सञ्चालित ‘दि एमभी मर्सर स्ट्रिट’ नामक सो ट्यांकरमाथि बिहीबार ओमानको समुद्री क्षेत्रमा आक्रमण भएको थियो । उक्त घटनामा एक बेलायती र अर्को रोमानियाली नागरिकको ज्यान गएको थियो ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेन्नेटले पुरानो शत्रु राष्ट्र इरानको यस आक्रमणमा हात रहेको दाबीसहित विज्ञप्ति जारी गरेपछि अमेरिका र बेलायतले यस विषयमा बोलेको हो ।

बेन्नेटले चेतावनी दिँदै भनेका छन्– ‘हामीलाई हाम्रै तरिकाले इरानलाई कस्तो सन्देश पठाउनुपर्छ भन्ने थाहा छ ।’

तर, तेहरानले भने आफूमाथि आधारहीन आरोप लगाइएको भन्दै यस विषयबाट पन्छिन खोजेको छ । एमभी मर्सर स्ट्रिटमाथिको आक्रमणलाई इरान र इजरायलबीचको अप्रत्यक्ष र अघोषित युद्धको पछिल्लो उदाहरणको रूपमा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले लिइरहेका छन् ।

गत मार्चदेखि नै इजरायल र इरान दुवैबाट सञ्चालित पानीजहाजमा थुप्रै आक्रमणहरू हुँदै आएका छन् । ती घटनालाई आक्रमण र प्रत्याक्रमणको रूपमा हेरिएको छ । यद्यपि, मानवीय क्षति भने न्यून रहेको छ ।

इरानले इजरायलले आफ्ना पारमाणविक क्षेत्र तथा वैज्ञानिकहरूमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ । आइतबार बेलायती विदेशमन्त्री डोमिनिक रावले एमभी मर्सर स्ट्रिटमाथि आक्रमण गर्न इरानले एक वा त्योभन्दा बढी ड्रोन विमान प्रयोग गरेको हुनुपर्ने जनाएका छन् । उनले इरानले नियतवश आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन तोडेको पनि आरोप लगाएका छन् ।

उनले इरानले यस्ता आक्रमण रोकेर जहाजहरूलाई स्वतन्त्ररूपमा चल्ने वातावरण प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टन पनि यो काम इरानकै भएकोमा विश्वस्त रहेको र यसको सही जवाफ फर्काउनुपर्ने बताएका छन् ।
इजरायली प्रधानमन्त्रीले अब अन्तर्राष्ट्रिय समुदायले नै इरानले गम्भीर गल्ती गरेको स्पष्ट गरोस् भन्ने आशा लिएको बताएका छन् । पश्चिमी मुलुकहरूले इरान पारमाणविक हातहतियार विकासमा लागिपरेको शंका गर्दै आएका छन् ।

सन् २०१५ इरान र विश्वका शक्ति राष्ट्र समूहबीच इरानले पारमाणविक हतियार कार्यक्रम रोक्ने र बदलामा इरानमाथि लगाइएका नाकाबन्दी खुकुलो गर्दै लानेबारे एउटा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्