वृद्धको घरमा नाजीकालीन हतियार भेटिए



बर्लिन, (एजेन्सी) ।

नाजीकालीन एउटा प्यान्थर टैंकका कारण एक ८४ वर्षीय जर्मन वृद्ध कानुनी झमेलामा फसेका छन् । सो दोश्रो विश्वयुद्धमा प्रयोग भएको टैंक उनको घरको भूमिगत तल्लामा फेला परेको थियो । सरकारी न्यायिक अधिकारीहरूले सरकारी नोकरीबाट अवकाशप्राप्त उनले जर्मन युद्ध हतियार नियन्त्रण कानुन तोडेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको एउटा संग्रहालयले त्यो टैंक खरिद गर्ने चासो देखाएको छ । प्रहरीले सन् २०१५ मा उनको निवास परिसरबाट दुईवटा प्यान्थर टैंक, एउटा एन्टिक्राफ्ट गन र एउटा टर्पेडो फेला पारेको थियो ।

तर, ती वृद्धमाथि हुनसक्ने सजायबारे न्यायाधीशको टोली र वकिलहरूबीच वार्ता जारी रहेको छ । उनलाई ५ लाख ९४ हजार ५० डलर जरिवाना हुनसक्छ । यस घटनाको कारण सैन्य सामग्री संकलन गर्दा के जर्मनीको युद्ध हतियार कानुन उल्लंघन भएको ठहरिन्छ भन्ने बहस शुरू भएको छ । ती वृद्धका वकिलहरूले उनका घरबाट भेटिएका सामग्री प्रयोग गर्न सकिने अवस्थामा नभएकाले कानुन बिथोलिएको ठहर नहुने र जरिवाना नै भए पनि ५० हजार युरो मात्र तिराइनुपर्ने दाबी गरेका छन् ।

२० जना सैनिकलाई उत्तरी जर्मनीको उपनगर किएलको हेइकेन्डोर्फस्थित ती नाम नखुलाइएका वृद्धको घरबाट सैनिक हार्डवेयर निकाल्न नौ घन्टा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्