अफगानिस्तानका तीन शहरमा दोहोरो भिडन्त जारी



काबुल, (एजेन्सी) ।

अफगानिस्तानको दक्षिण र पश्चिम भागमा रहेका तीनवटा प्रमुख शहरमा निरन्तर भिडन्त चर्किंदै गइरहेको छ । तालिवान लडाकुहरूले सरकारी फौजबाट ती शहर फुत्काउन खोज्दा भिडन्त चर्किएको हो । आइतबार हेरात, लस्करगाह र कान्दहारमा एकैचोटि युद्ध शुरू भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बरसम्ममा अफगान भूमिबाट सम्पूर्ण विदेशी फौज फिर्ता भइसक्ने घोषणा गरेयता तालिवान लडाकुहरूले अफगानिस्तानका ग्रामीण भेगहरू धमाधम कब्जा गर्न थालेका छन् । अमेरिकी नेतृतवमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौज अर्थात् उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)ले सन् २००१ को डिसेम्बरमा अफगानिस्तानमा आक्रमण गरेर तत्कालीन तालवान सरकार अपदस्थ गरेको थियो ।

सन् २००१ को ११ सेप्टेम्बरमा ओसामा विन लादेनको नेतृत्वमा रहेको अलकायदा लडाकु समूहले अमेरिकाका विभिन्न स्थानमा विमानबाट आतंककारी तथा आत्मघाती आक्रमण गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको निर्देशनमा अफगानिस्तानमा सैनिक कारबाही थालिएको थियो ।

अहिले तालिवान पक्षबाट अन्धाधुन्ध आक्रमण गर्न थालेपछि अफगानिस्तानको मानवीय समस्या चर्किने र त्यहाँको सरकारी फौजले कतिन्जेल सामना गर्न सक्ने हो भन्नेजस्ता गम्भीर प्रश्नहरू उठ्न थालेका छन् ।

कट्टरपन्थी इस्लामिक समूह तालिवानले इरान र पाकिस्तानसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रलगायत अफगानिस्तानको आधा भूभाग कब्जा गरिसकेको बताइएको छ । तर, तिनीहरूले अहिलेसम्म कुनै पनि प्रान्तीय राजधानी नियन्त्रणमा लिन सकेका छैनन् । दोहोरो युद्धको मार खप्न बाध्य एकजना स्थानीय बासिन्दा हलिम करिमीले आफूहरूलाई सरकारी फौज र तालिवान लडाकु दुवैले दया नगरेको गुनासो पोखेका छन् । अहिलेसम्म कान्दहारबाट मात्र हजारौं बासिन्दा विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्