सत्ता सुविधाका लागि मात्रै हो सरकार ?



हामीले हरेक सामान खरिद गरेबापत राज्यलाई राजस्व तिर्छौं । उद्योगपतिहरुले राज्यलाई अलिक धेरै राजस्व तिर्छन् । हामी सर्वसाधारणचाहिँ अलि कम राजस्व तिर्छौं तर सरकारले तोकेअनुसार राजस्वचाहिँ तिर्छौं नै ।

हरेक वर्षको जेठ १५ गते सरकारले बजेट भाषण गर्छ । सरकारले बजेट भाषण गर्दा सबैभन्दा बढी खुशी हुन्छन् निर्माण व्यवसायी र सरकारी कर्मचारी । त्यसपछि सरकारी कर्मचारीको तलब बढ्छ, भत्ता पनि । यता ठेकेदारवालाहरुले पनि नयाँ–नयाँ काम पाउँछन् । चाहे बाटो निर्माण गर्ने होस्, चाहे पुल मर्मत गर्ने होस् । प्रत्येक वर्ष बजेट भाषण गर्ने बेलामा ठेकेदारहरुले सामान सिद्धियो भनेर हाहाकार देखाउने गर्छन् । हरेक बजेट भाषणमा व्यापारीहरुले सामान लुकाउने र सामानको हाहाकार देखाएर सरकारलाई सामानको मूल्य बढाउन लाउने गर्छन् ।

सरकारले प्रत्येक वर्ष हरेक ठाउँका गल्ली–गल्लीलाई पुग्ने गरी बजेट छुट्याउँछ । जुन बजेट सरकारले छुट्याउँछ त्यो जनताले तिरेको कर हो । तर कुन पार्टीको सरकार सत्तामा छ, कुन जिल्लाको सांसद सत्तामा बसेको छ, उसको जिल्लामा सबैभन्दा बढी बजेट पारित हुन्छ । यसले गर्दा पनि जुन क्षेत्रको सांसद, मन्त्री, प्रधानमन्त्री बनेको छ त्यस क्षेत्रको मात्र विकास हुन्छ ।

हाम्रो देशमा एउटै मान्छे पटक–पटक सत्तामा गएको छ । मैले बुझेअनुसार एउटै नेता १६ पटकसम्म प्रधानमन्त्री बनेको छन् रे ! एकचोटि मन्त्री भइसकेपछि त्यो मन्त्रीलाई सत्तामा चढ्न दिनुहुँदैन । यसो गर्दाखेरि दुर्गम र अविकसित जिल्लाका सांसदहरु पनि मन्त्री बन्न पाउँथे कि । जोे पार्टीको अध्यक्षको नजिक बस्छ, जसले सभापतिको सपोर्टमा बोल्यो, जो सभापतिको दाँयाबाँयाको झोले बन्यो उसले मात्र पटक–पटक मन्त्रीको पद पायो । अरु दुर्गम क्षेत्रबाट आएका सांसदहरुले मन्त्री बन्ने अवसर पाएनन् । मन्त्री बनिसकेपछि त सबैको हाउभाउ नै फेरियो । मन्त्रीहरु जति पनि बजेट आउँछ त्यो आफ्नै जिल्लामा लगेर खन्याउँछन् ।

आजभन्दा केही वर्षअगाडि एकजना जुम्लाका सांसदले भन्नुभएको यो वाक्य कतिलाई आज पनि याद नै छ होला । उहाँले के भन्नुभएको थियो भने, पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्ना मित्र महेश बस्नेतको वडालाई पूरै जुम्ला जिल्लाभरिलाई पुग्नेजति बजेट खन्याएको थिए रे ! यो त एउटा उदाहरण मात्र हो । यस्तै सरकारमा बस्ने हरेक जिल्लाका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट ओइ¥याएका छन् । अनि जुन क्षेत्रले मन्त्री पाउँदैन, त्यो क्षेत्रको विकास नै नहुनु ?

२०४६ सालपछि मात्र एउटै व्यक्ति १५–१६ चोटि मन्त्री भइसकेका छन् । जो मान्छेसँग देश चलाउने क्षमता छैन, त्यस्तोलाई सत्तामा चढाउनु भनेको जनताले तिरेको कर सत्यानाश गर्नु मात्र हो । नेता कुनै जिल्लाको मात्र हुँदैन । नेता भनेको सबै जिल्लाको लागि समान हुन्छन् ।

अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा चढेको यो पाँचौंपल्ट हो । यसभन्दा अगाडि उहाँ चारचोटि प्रधानमन्त्री बनिसक्नुभएको छ । चारचोटि सत्तामा बसेर केही गर्न नसकेको ३ करोड जनताको माननीय प्रधानमन्त्रीले अहिले पनि केही गर्नुुहुन्छ भन्ने आशा हामी नेपाली जनताको मरिसकेको छ ।

पार्टीमा बोल्न नसक्ने, दुर्गम ठाउँका सांसदलाई चाहि मन्त्री बन्न नदिने । हिजो देशको राजनीति परिवर्तन गर्नको लागि ७७ वटै जिल्लाका हजारौँ मानिस शहीद भए । कतिका बाबुआमाले आफ्ना छोराछोरी गुमाए भने कति बालबालिका टुहुरो भए । तर त्यो गाउँले अभिभावकको रुपमा मन्त्री पाएनन् । पिछडिएको जिल्ला अहिले पनि पिछडिएकै छ । यस्तो पनि लोकतन्त्र र गणतन्त्र ?

ती शहीद भएका व्यक्तिको परिवारले दुई छाक खान पाएका छैनन् । के जनता भ्रष्टाचारीहरु सत्तामा चढून् भनेर शहीद भएका थिए ? राजनीतिको नाममा यस्तो फोहोरी खेल खेल्न यिनीहरुलाई लाज लाग्दैन ? देश विकास गर्छु भनेर त सत्तामा बस्छन् तर सत्तामा पुगेपछि हाम्रो देशका नेताहरुको रुपरंग नै बदलिन्छ ।

मन्त्रीलाई मन्त्रालयमा आफ्नो फोटो टाँस्दै ठिक्क, यता प्रधानमन्त्रीको पनि त्यही हाल । राजनीतिमा भएको यस्तो बेथिति जनताले कति दिन सहने ? व्यवस्थापन फेरियो, सरकार फेरियो तर सरकार चलाउने पात्र फेरिएनन् । सरकारको पात्रसँग सरकारको काममा पनि परिवर्तन आएन । यस्ता नेताप्रति नेपाली जनतालाई घृणा नै लागेर आइसक्यो ।

२०६२/६३ सालमा आन्दोलन भयो । त्यतिखेरका सर्वसाधारणले भनेको एउटा सत्य कुरा, जनताले तिरेको कर राजाको आवश्यकताको परिपूर्ति गर्दै ठिक्क हुने भो । त्यही भएर त्यतिखेर सम्पूर्ण जनता सडकमा उत्रिए । तर पनि सरकारको दिमाग अझै घाँस चर्न गएको छ ।
वडाध्यक्ष, मेयरहरुले अहिले पनि मिटिङ भत्ता, तलब भत्ता पनि खाइरहेका छन् । अझै सरकारी गाडी पनि चढेका छन् । कामचाहिँ केही नगर्ने अनि सम्पूर्ण सेवा–सुविधाको भागीदारचाहिँ बन्नुपर्ने । जनताको काम गर्नको लागि सत्तामा बसेको कि आफ्नो आवश्यकता पूरा गर्न ।

हाम्रो देशमा त पदमा पुग्न पाएका हुँदैनन् सेवा–सुविधा खोज्ने । अनि यस्ताले पनि देश विकास गर्छन् ? के देश विकास गर्नलाई गाडी र महँगो गलैँचा चाहिन्छ ? खोइ अन्य देशमा मन्त्रीहरु साइकलमा चढेर देश विकास गरेका छन् भने यिनीहरुचाहिँ पैदल हिँडेर देश विकास गर्न नहुने ?

हाम्रा देशका नेताहरु यति गएगुज्रिएका छन् कि पदको लागि जे पनि गर्न तयार हुन्छन् । काम पद र कुर्सीले गर्ने होइन नेताज्यू । दिमाग र आत्मबल हुनेलाई पदको आवश्यकता नै पर्दैन । राष्ट्र र जनताप्रति आफ्नो जिम्मेवारी बिर्सिने राजनीतिक दलले जनताले तिरेको करबाट तलब भत्ता खाएर, कुर्सी ढाकेर बसी केही फाइदा हुँदैन । हरेक नेपालीको मनमा उब्जिएको एउटा प्रश्न– के नेपालीहरु शहीद बनेको हजुरहरुलाई मन्त्री र प्रधानमन्त्री बनाउन हो ? हजुरहरुको राजनीतिप्रति हरेक नेपालीको धिक्कार छ ।

– अज्ञात

प्रतिक्रिया दिनुहोस्