३८ चालकद्वारा ट्राफिक प्रहरीलाई घुस दिने प्रस्ताव राजश्व दोब्बर, ३९ हजार ६१८ सवारी कारवाहीमा



मोतीराम तिमल्सिना, काभ्रे ।

सवारी नियम उल्लंघन गरी ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३८ चालकलाई कारवाही गरिएको छ । कारवाही गरिएका चालकहरुबाट ४९ हजार राजश्व संकलन गरीएको छ भने ६ हजार ६ सय ५० रुपैया चालकलाई फिर्ता गरेको प्रहरीले बताएको छ ।

‘सवारी साधन चलाई नियम उल्लंघन गर्ने चालकहरुले प्रहरीलाई नियमित चेकजाँचका क्रममा आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए’–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठले भन्नुभयो–‘त्यस्ता चालकहरुलाई कारवाही गरी आर्थिक प्रलोभनका लागि तयार गरेको रकम राजश्वमा जम्मा गरेका छौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक वर्षको अवधीमा ३९ हजार ६ सय १८ सवारी साधनलाई कारवाही गरी ४ करोड ८८ लाख २६ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले धेरै भाडा असुल्ने १५ वटा सवारी साधनलाई कारवाही गरी यत्राुसँग लिएको १ लाख ४ हजार रुपैया भाडा सम्वन्धीत यात्रुलाई नै फिर्ता गराएको छ ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अघिल्लो वर्ष २४ हजार ४ सय सवारी साधन कारवाही गरी २ करोड १४ लाख ९० हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । पार्किङ्ग गर्न नमिल्ने स्थानमा पार्किङ्ग गर्ने ४० वटा सवारी साधनमा ह्विल लक प्रयोग गरी ६० हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रेसर हर्न, नक्कली सवारी चालक अनुमति पत्र, विलबुक तथा अन्य कागपत्र नभएका सवारी साधनहरुलाई नियमित कारवाही गरिएको प्रहरी निरिक्षक प्रमिला श्रेष्ठले बताउनु भयो । थोरै जनशक्तिका बीच ब्यस्त शहर बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकामा सवारी साधनहरुको नियमित अनुगमन र चेकजाँच गरिएको उहाँले बताउनुभयो ।

लकडाउनका बाबजुत पनि सवारी साधनको चेकजाँच गरिरहेको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०७६/२०७७ मा २४ हजार ४ सय वटा कारवाहीबाट २ करोड १४ लाख ९० हजार ५ सय रावश्व रकम सकलन गरेको थियो भने २०७५/२०७६ मा २९ हजार ३ सय ५० वटा सवारीबाट १ करोड ८० लाख १९ हजार राजश्व संकलन भएको छ ।

२०७४/२०७५ मा ३० हजार ८ सय सवारी साधन कारवाहीमा परेका थिए । जसबाट १ करोड ८९ लाख ८४ हजार राजश्व संकलन गरेको थियो । २०७३/२०७४ मा ३० हजार ८ सय सवारीबाट १ करोड ९४ लाख ५७ हजार रावश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्