कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए



नेपाल समाचारपत्र, काठमाडौंं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६ सय ७८ जनाले नवीकरण गरेका छन् । १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए । कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ । प्रतिवेदनअनुसार देशभरका कुल क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४ सय ३८ पुरुष र १ लाख ९९ हजार ९७ जना महिला रहेका छन् ।विदेशमा रहेका क्रियाशील सदस्य संख्या भने १ सय ७६ रहेका छन् । समितिले उमेर समूहअनुसार पनि क्रियाशील सदस्यहरूको वर्गीकरण गरेको छ । कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झन्डै ३ लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४ सय २७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७ सय ७४ क्रियाशील सदस्य रहेको छ ।त्यसै गरी, ४१–६० वर्षका ३ लाख २८ हजार २ सय ३४ क्रियाशील सदस्य छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७ सय ८२ जना रहेका छन् । कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ ३ लाख ६७ हजार ६ सय ११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी, जनजातितर्फ २ लाख ८ हजार १ सय ५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८ सय २९, मधेसी ९५ हजार १ सय ४१, मुस्लिम १६ हजार ९ सय ७०, थारू २७ हजार ६ सय १५ र पीछडिएको क्षेत्रका १४ हजार ९ सय १४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । अपांगता भएका क्रियाशील सदस्यता संख्या २ सय १ रहेको प्रतिवेदनमा उल्लेख छ । सात प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्य बागमती प्रदेशमा छन् । वागमतीमा १ लाख ८६ हजार १ सय ४३ क्रियाशील सदस्यता संख्या रहेकोमा कर्णालीमा सबैभन्दा कम ५४ हजार ५ सय ६६ क्रियाशील सदस्य रहेका छन् ।

यसअघि ५ लाख हाराहारीमा सदस्यता रहेको कांग्रेसले दोब्बर बनाउँदै १० लाख सदस्यता बाँड्ने घोषणा गरेको थियो । तर, नवीकरणभन्दा नयाँ सदस्यता लिने ३४ हजार ७ सय ४५ मात्र बढी देखिएका छन् । १३औं महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य संख्या ४ लाख ७० हजार थियो ।सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको यो प्रतिवेदन निर्वाचन समितिलाई बुझाएपछि कांग्रेसमा औपचारिकरूपमा १४औं महाधिवशेनको कार्यक्रम शुरु हुने भएको छ । समितिले बारा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता मिलाउन सकेको छैन । त्यस्तै, धनुषा क्षेत्र नम्बर ४ र सर्लाही–२ को विवाद पनि मिलाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण यसअघि वडा र गाउँनगरको तोकिएको अधिवेशन कार्यतालिका स्थगित भएको थियो । कांग्रेसले वडा र गाउँनगरस्तरिय अधिवेशनको नयाँ कार्यतालिका अझै सार्वजनिक गर्न सकेको छैन । तर, आगामी भदौमा आयोजना गर्ने गरी १४औं महाधिवशेनको कार्यतालिका भने सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्