प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त



काठमाडौं ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, ललितपुरका सचिव ४७ वर्षीय भीमसेन घिमिरेको आज विहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएकाे छ ।

स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ  ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु-याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्