समितिको प्रतिवेदन यसै साताभित्र

न्यायपालिकाभित्र विकृति विसंगति



नेपाल समाचारपत्र, काठमाडौं । 

न्यायपालिकामा रहेको विकृति विसंगति हटाउने उद्देश्यले सुझाव पेस गर्न गठित समितिले एक साताभित्र प्रतिवेदन पेस गर्ने गरी कार्य अघि बढाएको छ ।

न्यायपालिकाभित्र विकृति विसंगति भएको भनी आलोचना हुन थालेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा झन्डै १० महिनाअघि एक समिति गठन गर्नुभएको थियो । सो समितिको अवधि यही साउन मसान्तसम्म रहेको भए तापनि एक साताभित्र कार्य सकाउने गरी तयारी अघि बढिरहेको समितिका एक सदस्यले बताएका छन् । उनले भने– ‘हामीले प्रतिवेदन तयार गरिसकेका छौं । यसमा भएका विषयलाई लिएर अहिले हामीले रुजु गरिरहेका छौं ।’समितिकोे बिहीबार बसेको बैठकमा प्रतिवेदनमा उल्लेख भएका विषयहरूको बारेमा रुजु गर्ने कार्य भएको थियो । समितिले विभिन्न विषयलाई समेटेर प्रतिवेदन तयार गरिसकेको छ ।

प्रतिवेदनमा न्यायपालिकाभित्र के–कसरी विकृति विसंगति भइरहेको छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा सुझावहरू दिइएको छ । समितिमा न्यायाधीश कार्कीको संयोजकत्वमा सर्वोच्चका केही न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष, सचिवलगायतका व्यक्ति सदस्य रहेका छन् ।सो समितिले सरोकारवालासँग राय परामर्श लिने कार्य यसअघि नै सकाएको छ । समितिका सदस्यहरु न्यायपालिकाभित्र हुने गरेको विकृति विसंगतिको बारेमा जानकारी लिन उपत्यका बाहिर पनि गएका थिए । उपत्यकाबाहिर सो समितिले न्यायाधीश, कानुन व्यवसायी तथा अन्य सरोकारवालाहरूसँग राय परामर्श गरेको थियो । समितिले केही महिनाअघि नै प्रतिवेदन बुझाउनुपर्नेमा कोभिड–१९ महामारीका कारण ढिलाइ भएको बताएको छ ।

समितिका सदस्य नेपालबार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि समितिले अब छिट्टै प्रतिवेदन तयार गरी प्रधानन्यायाधीशसमक्ष पेस गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्