गुठी संस्थानलाई सरोकारवाला मैत्री बनाउने छौं’



न्युज अफ नेपाल, काठमाडौं । 
गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यले गुठी संस्थानलाई सरोकारवाला मैत्री बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
त्रिपुरेश्वरस्थित संस्थानको केन्द्रीय कार्यालयमा नेवाःपत्रकार राष्ट्रिय दबूले विहीबार आयोजना गरेको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जेठ २० गते बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई संस्थानको प्रशासकमा नियुक्त गरेको थियो । उहाँले असार ८ गते पदभार ग्रहण गर्नुभएको थियो ।
जात्रा, पर्व र विभिन्न अमूर्त संस्कृतिसंग जोडिएका गुठीयार र सरोकारवालाको संस्थानप्रति अपनत्व कमी र मैत्री नभएको भनि गुनासो आउने गरेको भन्ने पत्रकारहरुले उठाएको विषयमा उहाँले भन्नुभयो ‘ संस्थानप्रति सरोकारवाला निकै गुनासा रहेका छन् । त्यसलाई विद्यमान ऐन, संरचनाको दायरामा बसेर सम्बोधन गर्ने मेरो प्रयास रहन्छ । ’ उहाँले भन्नुभयो ।
जात्रा,पर्व र अमूर्त संस्कृतिमा संस्थानले दि“दै आएको रकम तथा जिन्सी सहयोग समयसापेक्ष नभएको भनि बढी गुनासो आउने गरेको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘ संस्थानले उपलब्ध गराउँदै नगद तथा जिन्सी सहयोग बढाउनेतर्फ मेरो जोड रहनेछ ।अघिपछि दिँदै आएको नगद तथा जिन्सी सहयोग भन्दा यस वर्ष केही वृद्धि गर्ने छौं ।’ प्रशासक शाक्यले उपत्यकाका ठूला जात्रा, पर्व र त्यससंग जोडिएको अमूर्त संस्कृति संरक्षणका त्यस सम्बन्धी भिडियो बनाउने कार्यसूची रहेको बताउनुभयो ।
गुठी संस्थानलाई निर्देशित गर्ने ऐन पुरानो भइसकेको बताउँदै अहिले देखापरेका समस्या र चुनौती समाधान गर्न नयाँ ऐन, कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो ‘ दुई वर्ष अघि सरकारले ल्याएको गुठी विधयेकको विरोधमा ठूलो आन्दोलन भयो, चारैतिरबाट त्यसको विरोध भयो । पछि सरकार विधेयक फिर्ता पनि ग¥यो । वास्तवतमा नयाँ ऐन बनाउनुपर्ने आवश्यकता छ । अहिले देखिएका समस्या समाधान गर्न के कस्ता प्रावधान राख्नुपर्ने, हुनुपर्ने के हो ? भन्ने विषयमा सुझाव, सल्लाह दिन पनि सबैमा अनुरोध गर्दछौं ।’
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले आफ्नो कार्यकालमा शाक्यले गुठी सम्बन्धी देखापरेका समस्या, असन्तुष्टिलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘ प्रशासक शाक्य स्वयं पनि नेपाल भाषा, संस्कृतिको आन्दोलनबाट आएको व्यक्ति हुनुहुन्छ । यसले गर्दा गुठी सम्बन्धी समस्या उहाँले बुझ्नुभएको छ ।’ पत्रकार राष्ट्रिय दबूका अध्यक्ष बज्राचार्यले भन्नुभयो । त्यस्तै पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जात्रा, पर्वका लागि दिँदै आएको नगद तथा जिन्सी सहयोग बजार भाउ अनुसार दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले गुठी सम्बन्धी समस्या, आन्दोलनको माग, सरोकारवालाको असन्तुष्टिहरु मध्ये केही विद्यमान प्रशासनिक र ऐन कानून दायराबाटै समाधान गर्न सकिने र अर्को नयाँ ऐन मार्फत सम्बोधन गर्नुपर्ने बताउनुभयो। ‘ सरोकारवाला मैत्री, सुशासनसंगै गुठी संस्थान ऐन २०३३ को सीमा र नयाँमा ऐनमा कस्तो खालको प्रावधान राख्नुपर्ने विषय सार्वजनिक विमर्श विषय बनाउन शाक्यको कार्यकाल महत्वपूर्ण साबित हुनेमा विश्वस्त छौं ।’ महासचिव महर्जनले भन्नुभयो ।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष रचना श्रेष्ठ, सचिव के.के मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र कार्यकारिणी सदस्य पूर्णभक्त दुवाल लगायतले जात्रा, पर्व चलाउने स्रोत भूमीको संरक्षण गर्ने संस्थानलाई जात्रा पर्व विरोधी संस्थाको रुपमा जनमानसमा छाप रहेकोलाई चिर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्