४२ खर्ब निक्षेप संकलन गर्दा वाणिज्य बैंकहरूद्वारा ३७ खर्ब ऋण लगानी



नेपाल समाचारपत्र, काठमाडौं ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ४२ खर्ब रुपियाँ भन्दा बढी निक्षेप संकलन गरेका छन् । कोरोना संक्रमणका कारण मुलुकको सिंगो अर्थतन्त्रमा नकारात्मक असर पारिरहेका बेला बैंक तथा वित्तीय क्षेत्रको व्यवसायमा भने खासै समस्या देखिएको छैन ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब २ अर्ब रुपियाँ निक्षेप संकलन गर्दा ३७ खर्ब २१ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् ।

यस अवधिमा निक्षेप संकलन २० प्रतिशतले बढ्दा कर्जा लगानी २८ प्रतिशतले बढेको छ । सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) ४२ खर्ब ६६ अर्ब रुपियाँ पुग्ने प्रक्षेपण गरेका अवस्थामा वाणिज्य बैंकको निक्षेप जीडीपीकै हाराहारीमै रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १५ दशमलव ३ प्रतिशतले निक्षेप बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ दशमलव ३ प्रतिशतले निक्षेप बढेको थियो । वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २० दशमलव ८ प्रतिशतले बढेको छ । जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव ६ प्रतिशत, ३४ दशमलव ३ प्रतिशत र ४८ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ४८ दशमलव २ प्रतिशत रहेको थियो ।

त्यस्तै जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको छ । २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ९८ प्रतिशत रहेको थियो । उक्त अवधिमा कर्जातर्फ २४ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २६ दशमलव ३ प्रतिशतले बढेको छ । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५ दशमलव २ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५ दशमलव ३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९दशमलव ९ प्रतिशतले बढेको छ ।जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव ७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव ५ प्रतिशत र १३ दशमलव ३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४० दशमलव २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९ दशमलव १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव ९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलव ४ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८ दशमलव २ प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव ८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८ दशमलव २ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २४ दशमलव १ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११ दशमलव ९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव ६ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ५३ दशमलव २ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५ दशमलव ५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६-७७ मा कर्जाको वृद्धिदर १६ दशमलव ४० प्रतिशत रहेकोमा आव २०७५-७६ मा १८ दशमलव ३७ प्रतिशत, आव २०७४-७५ मा २१ दशमलव ७३ प्रतिशत, आव २०७३-७४ मा २५ दशमलव ७२ प्रतिशत र अब २०७२-७३ मा बैंकहरुको कर्जाको वृद्धिदर २६ दशमलव ९४ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्