चिकित्सकमाथि हातपात भएपछि अस्पतालको सेवा ठप्प



न्युज अफ नेपाल,  भद्रपुर ।

डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेका छन् । मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् । चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ ।

आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए । आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबीच उपचारकै विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा दुवै पक्षबीच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

डाक्टरमाथि बिरामीका आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । घटनाको विषयमा प्रहरीले जाहेरी लिन मानेनन् त्यसैले यस्तो घटना फेरि डाक्टरमाथि दोहोरिन सक्छ, यस्तो जोखिमपूर्ण अवस्थामा अस्पतालमा हामी कामकाज अगाडी बढाउन सक्दैनौँ, विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्ण रुपमा अस्पतालमा विरोध जनाउँदै दोषीलाई कानुनी कारबाही नभएसम्म विरोध जारी रहने उल्लेख छ ।

घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताउँनुभयो । मेडिकल अधिकृतहरू विरोधमा उत्रिएपछि अस्पतालको सबै सेवा ठप्प भएको उहाँको भनाइ छ । आकस्मिक कक्षको सेवा अस्पताल प्रशासन पक्षले नरोकेको उहाँको भनाइ छ । दोषीलाई कारबाही नभएसम्म सेवा नदिने उहाँहरुको अडान रहेको उहाँले बताउँनुभयो । छलफलपछि डा. केवल कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको उहाँको भनाइ छ ।

बिरामीका आफन्त निरौलाले भने भनाभनका क्रममा डा. केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गर्नुभयो । श्रीमतीलाई सञ्चो नभएपछि उपचारका लागि मेची अस्पताल पुर्याउँदा आकस्मिक कक्षमा डाक्टर नभएपछि पुेगेको ४५ मिनेटमा केवल कपुरी आएको उहाँको भनाइ छ । त्यही विषयलाई लिएर डाक्टर कपुरीसँग केही भनाभनकै क्रममा उहाँले खाते भनेपछि मैले नै सुरुमा हात हालेको उहाँले स्वीकार्नु भयो । त्यसपछि डाक्टरले पनि हात हालेपछि यस्तो समस्या आएको उहाँको भनाइ छ । अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु गल्ती भएकोले स्वीकार गरेको उहाँले बताउँनुभयो । तर‚ एकजनाको गल्तीका कारण सम्पूर्ण बिरामीले सेवाबाट बञ्चित गराउनु नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्