लागू औषध सहित वडा अध्यक्ष र सदस्य पक्राउ



कृष्णउदास खनाल वीरगन्ज ।

पर्साको पकाहामैनपुर गाउँपालिकाका वडा नम्बर –१ का वडाध्यक्ष र वडा सदस्य खैरो हेरोइनसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटिएको प्रहरीले गएराति साढे १० बजे वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा ना १ ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पकाहामैनपुर गाउँपालिका–१ धोरे निवासी ५५ वर्षीय अमेरिका सहनीले चलाएको मोटरसाइकलको फिल्टर बक्सबाट खैरो हिरोइन बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गाउँपालिकाको सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेरोइन ओसारेका सहनी उक्त गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष हुन् । मोटरसाइकलमा पछाडि बसेका सोही वडाका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षकै पछाडि आइरहेका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका ४० वर्षीय बलिस्टर सहनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जनाउनुभयो । अनुसन्धानमा बलिष्टर सहनीले भने लागू औषध तस्करीको स्कर्टिङ गरिरहेको खुलेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्