प्रधानमन्त्री देउवाले लिए विश्वासको मत



मधुसूदन रायमाझी, काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको छ । उहाँले १ सय ६५ जनाको मत प्राप्त गर्दै विश्वासको मत लिनुभएको हो । उहाँले प्रतिनिधिसभा पुनःस्थापित भएपछि बसेको पहिलो बैठकबाटै संसद्बाट विश्वासको मत लिनुभएको छ । आइतबार राति भएको मत विभाजनमा प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गर्नुभयो भने उहाँको विपक्षमा ८३ मत रहेको छ । संसद्मा उपस्थिति २४९ जना सांसदमध्ये प्रधानमन्त्री देउवाले सहजै विश्वाको मत प्राप्त गर्नुभयो । देउवाले संसद्मा विश्वासको मत लिन १३६ सांसद आवश्यक भए पनि अन्तिम समयमा जनता समाजवादी पार्टीका महन्त ठाकुर समूहले मत दिएसँगै अपेक्षाकृतभन्दा बढी मत प्राप्त गर्नुभएको हो ।

संविधानअनुसार प्रधानमन्त्री भएको एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले संसद् बैठक शुरु भएकै दिन प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभएको छ । अब प्रधानमन्त्री देउवाले १७ महिना सरकारको नेतृत्व गर्नुहुने भएको छ ।प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) समूह, जनता समाजवादी पार्टी (महन्त ठाकुर) समूह र नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदले मत दिएका थिए । यसअघि केपीओली नेतृत्वको सरकारलाई साथ दिँदै आएको ठाकुर समूहले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई मत दिने निर्णय गरेको थियो । ठाकुर समूहमा रहेका सांसदहरु धमाधम उपेन्द्र यादव समूहमा लागेपछि उक्त समूहमा रहेका सांसदहरुले पनि देउवालाई नै मत दिएका थिए ।प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा पुनःस्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले पनि सर्वोच्च अदालतमा दिएको रिटमा हस्ताक्षर गरेका थिए ।

तर विश्वासको मत दिने क्रममा भने नेपाल समूह विभाजित बनेको थियो । गत असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने फैसला गरेको थियो । सर्वोच्च अदालतको फैसलाबमोजिम असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यी हुन् देउवालाई मत दिने एमालेका २२ सांसद

नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपीशर्मा ओली पक्षका सांसद पनि रहेका छन् । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हीरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् । महन्त ठाकुर समूहले विश्वासको मत दिने निर्णय गरेसँगै नेपाल समूहका केही सांसद संसद् भवनबाट बाहिरिएका थिए ।एमाले ओली पक्षबाट फ्लोर क्रस गर्ने सांसदमा प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, हीराचन्द्र केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन रहेका छन् ।

निरंकुश प्रवृत्तिमा अकुश लाग्यो: नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै निरंकुश प्रवृत्तिमा अंकुश लागेको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘आज निरंकुश प्रवृत्तिमा अंकुश लागेको हो ।’ माधव नेपालसहित एमालेका २२ सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल निकट १० सांसद भने तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्