डिम्याट खाताबारे केही जानकारी



शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ ।

यसो भएपछि शेयर खरिद–बिक्री गर्न सहज हुन्छ, खरिद–बिक्रीको राफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो शेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनुपर्दैन ।

कसरी, कहाँ खोल्ने खाता ?
यो खाता विभिन्न बैंकका सहायक कम्पनीहरुमा खोल्न सकिन्छ । सहायक कम्पनी भएका बैंकहरुले नै यस्तो खाता खोलिदिन्छन् । त्यस्तै ब्रोकर कम्पनीहरुमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) भनिन्छ । ७६ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।

धेरैले यस्तो खाता खोलेबापत कुनै शुल्क लिँदैनन् । केहीले एक सय रुपियाँसम्म शुल्क लिन सक्नेछन् । डिम्याट खाता खोलेपछि तपाईंलाई १६ अंकको डिम्याट खाता नम्बर प्राप्त हुन्छ । सो नम्बर पाएपछि मात्रै तपाईंले प्राथमिक शेयर भर्न वा दोस्रो बजार (नेप्स)बाट खरिद–बिक्री गर्न सक्नुहुनेछ ।आफ्नो डिम्याट खातामा कुन–कुन कम्पनीको, कति शेयर छ ? त्यसको अहिलेको बजार मूल्य कति छ ? खातामा शेयर जम्मा भए-नभएको जस्ता विवरण पनि आफूले नै मोबाइल वा ल्यापटपबाट हेर्न सकिन्छ । यसका लागि डिम्याट खाता खोलिदिने संस्थाले डिम्याट एकाउन्ट लगइनको युजरनेम र पासवर्ड दिन्छन् ।

कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट खाता:

कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेस्ट फारम भनुपर्छ । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् डीपीलाई बुझाउनुपर्दछ । ग्राहकबाट लिएको डिम्याट रिक्वेस्ट फारम डीपीले शेयर रजिस्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ । खाता खेल्नेबित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्स्ट्रक्सन स्लिप दिन्छ ।
शेयर बिक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एन्ड क्लियरिङमा तुरन्त जानकारी गर्नुपर्छ ।कुनै कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको छ, तर शेयरधनीले सो कम्पनीको शेयर डीपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता शेयरधनीले डीपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ । त्यसपछि हकप्रद शेयरको फारम भर्दा डिपोजिटरी पार्टिसिपेन्ट र बेनिफिसियल ओनर आइडी नम्बर उल्लेख गरेमा शेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।

शेयर नहुनेको पनि डिम्याट खाता:

आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेस्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन संकेत उल्लेख गर्नुपर्छ । आईएसआईएन संकेत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार यो संकेत फरक हुने गर्दछ । डिम्याट गर्ने कम्पनीसँग सोधेमा यो संकेत पाउन सकिन्छ ।

एकभन्दा बढी खाता खोल्न पनि मिल्ने:

हितग्राही खाता खोल्न रू. ५० तिर्नुपर्छ भने खाता खोलेपछि वार्षिक शुल्क रू. १ सय लाग्छ । लगानीकर्ताले एकभन्दा बढी डीपीमार्फत खाता खोल्न पाउने पनि सुविधा छ । अलग–अलग खाता खोल्दा प्रारम्भिक शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्दछ । लगानीकर्ताको खाता विवरण एउटै रहने भए पनि खाता नम्बर भने अलग–अलगै हुन्छ ।
– नवराज दाहाल, कलंकी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्