‘गरिब राष्ट्रका जनताको जीवन खतरामा’

29.42k
Shares

काठमाडौं, (नेस) ।

कोरोनाको महामारीमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप दिन धेरै ढिलाइ गरेका कारण गरिब राष्ट्रका जनताको जीवन खतरामा परेको भन्दै विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस गेब्रियसिसले चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले ९८ वटा देशमा फैलिसकेको जिकिर गर्दै धनी मुलुकले आफूले उत्पादन गरेको खोप आफैंले खपत गरिरहेको र गरिब राष्ट्रको खोपमा पहुँच नभएको कारण नयाँ भेरियन्ट डेल्टा भाइरस धेरै देश र मानिसका बीचमा फैलिएको दाबी गर्नुभयो ।

गरिब मुलुकमा खोप अभावले मानव अस्तित्व नै संकटमा परिरहेका बेला धनी मुलुकले भने बालबालिकालाई लक्षित गरी खोप उत्पादन गर्न लागेको छ । अक्सफोर्ड र एस्ट्राजेनेका खोप उत्पादन समूहकी एक सदस्य प्रोफेसर डेम सारा गिल्बर्टले कोरोना संक्रमण रोक्नका लागि धनी राष्ट्रका बालबालिका र अन्य राष्ट्रका लागि गरी दुवैलाई एकै साथ खोप उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिएकाले हामीले चाहिने मात्रामा खोप उत्पादन गर्न सकिहेका छैनौं, त्यसैले हामीलाई पनि चिन्ता लागिरहेको छ ।’

कोरोना भाइरस नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी, जोखिममा रहेका समूहलाई बचाउन सबै देशमा कम्तीमा १० प्रतिशत व्यक्तिहरूलाई आउँदो सेप्टेम्बरभित्रमा कोरोनाविरुद्धको खोप लगाइसक्नुपर्ने डा. टेड्रोसले बताउनुहुन्छ । उहाँले कोरोनाको पहिलो चरणमा फैलिएको भाइरसभन्दा नयाँ म्युटेसन डेल्टा भाइरस एकदम खतरनाक हुनुका साथै यो भाइरसले नयाँ स्वरुप परिवर्तन गरिरहेको र गरिब राष्ट्रहरूमा झनै चाँडो फैलिरहेको बताउनुभयो ।

कोरोना भाइरसबाट सबै मुलुकका नागरिक सुरक्षित नभएसम्म यो भाइरसलाई निर्मूल पार्न नसकिने धारणा राख्दै डा. टेड्रोस भन्नुहुन्छ– ‘कोरोना भाइरस निर्मूल पार्न तथा संक्रमण कम गर्न खोप नै चाहिन्छ । सुरक्षाका लागि चाहिने अक्सिजन, परीक्षण तथा उपचार सामान, औषधिजस्ता नभई नहुने स्वास्थ्य सुरक्षाका सामग्रीहरूमा विश्वले एकअर्कालाई सहयोग गर्नुपर्छ ।’

हालसम्म विश्वभरि तीन अर्ब १६ करोड ५६ लाख ८४ हजार एक सय ८२ जनाले खोप लगाइसकेका छन् । रोजालिन्ड फ्याङ्कलिन इन्सिच्युटका डाइरेक्टर जेम्स नेस्मिथले खोप उत्पादन गर्ने कम्पनी बायोटेक, फाइजर, मोर्डनालाई आफूले जानेको प्रविधि सबैलाई दिएर खोप उत्पादन बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Skip This