कोरोनाका रियल हिरो स्वास्थ्यकर्मीहरु



कोरोनाको दोस्रा लहरका कारण देश लकडाउनको अवस्थामा छ । कोरोना संक्रमणको दास्रो भेरिएन्ट नेपालमै अझै अन्त्य भइसकेको छैन । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका अविस्मरणीय छ । केही दिनअघि विश्व स्वास्थ्य संगठनका प्रमुखले नै नेपालका स्वास्थ्यकर्मीलाई कोरोनाका वास्तविक हिरो भन्दै ट्वीटरमा नेपालको मनाङमा कोरोनाविरुद्धको खोपसहित खोला तर्दै गरेको तस्वीर साझा गरेका थिए ।

वास्तवमै कोरोना महामारी नियन्त्रणमा नेपालले उल्लेख्य प्रगति गरेको छ । हामीले सोचेजस्तो भयावहरुपमा यसको क्षति नेपालले व्यहोर्नुपरेन । नेपाललाई कोरोनाको प्रभावबाट यसरी मुक्त गर्न स्वास्थ्यकर्मीले आफूलाई कति दु्ःख दिएका छन् । उनीहरु घण्टौंसम्म पीपीईभित्र बाफिएका छन् । दिसापिसाब गर्न डाइपरको समेत प्रयोग गर्नुपरेका उनीहरुका पीडा साँच्चै नै सराहनीय छन् ।यस्तैमा कतिपय अवस्थामा उनीहरुमाथि दुव्र्यवहारका घटना पनि भएका छन् । बाँकेको भेरी अञ्चल अस्पतालमा भएको घटना भत्र्सनायोग्य छ । आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथिको यस्तो आक्रमण वास्तवमै दण्डनीय छ । कतिपय अवस्थामा कार्यस्थलमा जाँदै गर्दा प्रहरीद्वारा भएका क्रियाकलाप पनि खेदजनक छन् । सिंगो नेपाल कोरोना महामारीको चपेटामा पिल्सिएका बेला यसलाई नियन्त्रण गर्न अहोरात्र लागिपरेका स्वास्थ्यकर्मी नै थिए । न कुनै तालिम, न धेरै तलब भत्ता केही नपाएर पनि उनीहरु जनताको सेवामा तल्लीन रहे । यस्ता हिरोहरुको सम्मानमा हामी बोल्नुपर्छ । उनीहरुमाथि भएको आक्रमणको विरोध गर्नुपर्दछ ।

सरकारले उनीहरुको उचित सम्मान र प्रोत्साहनस्वरुप दिने भनिएका कुराहरु समयमै देओस् । यो देशमा नेताहरुले अर्बौं भ्रष्टाचार गर्दा ढुकुटी नरित्तिने, स्वास्थ्यकर्मीको तलब भत्ता वृद्धा हुँदा घटे घटोस् । जनता उनीहरुको साथमा छन् । यस्तै महामारीमा अरुलाई बचाउँदा बचाउँदै कतिपय स्वास्थ्यकर्मीहरुले ज्यानसमेत गुमाउनुपरेको छ । कतिपयले आफन्त गुमाएका छन् ।सेवा भनेको मानवताको भावनाले गरिन्छ । पैसाको लोभमा उनीहरुले गरेका होइनन् । उनीहरुका पनि घरपरिवार, आफन्त, व्यक्तिगत जिन्दगी हुन्छन् । तर किन यस्तो जोखिम मोलेर जनता बचाउन उनीहरु खटिएका छन् । उनीहरुको भावना बुझ्न जरुरी छ ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा पर्याप्त उपचारका लागि आवश्यक स्रोत–साधन नहुँदा नहुँदै विश्वस्तरको सेवा प्रदान गरेर नेपाली जनताको जीवन रक्षा गरेका छन् । नेपाल बिस्तारै बौरिन थाल्नेछ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदै जानेछ । यो महामारी नियन्त्रणमा सर्वसाधारण जनताको पनि उत्तिकै भूमिका छ । हामीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर आफैंलाई सुरक्षित राख्नुपर्दछ । हामी आफू सुरक्षित हुँदा अरु पनि सुरक्षित हुन्छन् । र, सिंगो देशले बिस्तारै महामारी निर्मूल भएपछि गहिरो श्वास फेर्नेछ ।
– प्रज्ञा कोइराला, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्