राहत र उद्धारमा तीव्रता देऊ



नेपालमा मनसुन शुरु भएसँगै बाढीपहिरोका समस्या बर्सेनि देखा पर्ने गर्दछ । यसपालि पनि असार शुरु हुनेबित्तिकै बाढीपहिरोको वितण्डा शुरु भएको छ । दर्जनौँ मानिसले ज्यान गुमाएका समाचार मिडियामा आइरहेका छन् । सयौँ घरबारविहीन र हजारौँ प्रभावित भएका छन् । मंगलबार राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपहिरोको कारण त्यहाँको अवस्था कहाली लाग्दो बनेको छ ।

मनाङदेखि बाजुरासम्म बाढी र पहिरोको समस्या चुनौतीका रुपमा देखिएको छ । कोरोना महामारीका कारण आजित नेपाली जनता फेरि प्राकृतिक विपत्तिको सामना गर्न बाध्य छन् । विकासका नाममा देशभरमा अव्यवस्थित शहरीकरण, जंगल फँडानी र पहाडी क्षेत्रमा सडक विस्तारका कारण यस्तो समस्या बर्सेनि बढ्दै गएको छ ।नेपालको तराई क्षेत्र यस्तै आपतमा पर्ने गर्दछ । यसपालि वर्षायाम शुरु भएसँगै त्यहाँ पनि डुबानको समस्या देखिन थालेको छ । सर्वप्रथम यस्ता प्राकृतिक विपत्तिको कारण खोजेर दीर्घकालीन समाधानको उपाय खोज्नु जरुरी छ । तर यति बेला जनतालाई तत्काल उद्धार र राहतको आवश्यकता छ । सरकारले तत्काल प्रभावित क्षेत्रका बासिन्दाको घाउमा मलहम लगाउन हदैसम्मको सक्रियता देखाउनुपर्दछ ।जनतामा दुःख पर्दा उनीहरुको सुरक्षा र जिम्मेवारी राज्यको दायित्व हो । सरकारले यस्ता क्षेत्रहरु पहिचान गरी बढी क्षति हुन नदिन पूर्वतयारी गर्न जरुरी छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी जनताको उद्धार र सुरक्षामा ध्यान दिनुपर्दछ । यस्तै जो जहाँ छौैँ त्यहीँ सजग र सचेत भएर पनि बस्न जरुरी छ ।

राजनीतिक दलका कार्यकर्ता, सामाजिक अभियन्तालगायत सञ्चारमाध्यमहरुले यो विषयमा आफूले सक्ने जिम्मेवारी पूरा गर्नुपर्दछ । असार शुरु नहुँदै देखिएको वितण्डा अझै केही महिना चल्ने नै छ । यसमा हामी सबै मिलेर धैर्य र बुद्धिमताका साथ सामना गर्न जरुरी छ । कोरोना महामारीबाट जोगिनु छँदै छ । रोग, भोक र प्राकृतिक विपत्तिको सिकार एकैचोटि भैरहेका बेला राजनीतिक महामारी पनि भोगिरहेको छ मुलुकले ।जनतालाई हेलिकोप्टरबाट केही किलो चामल, चाउचाउ राहत बाँडेर चुनावी प्रचार गर्ने नालायक नेता–मन्त्रीहरुलाई जनताले बहिष्कार गर्नुपर्दछ । यिनीहरुको गलत नीतिकै कारण जनताले यस्ता विपत् भोग्नुपरेको बुझ्न जरुरी छ । चुरे क्षेत्र मासेर, जंगल तस्करी गरेर मनग्य पैसा आर्जन गर्ने हुतिहाराहरुको हिसाबकिताब लेखेर राख्नै पर्दछ । यतिखेरचाहिँ तत्काल राहत, उद्धार र जनताको सुरक्षामा सबै जुटौैँ ।
– रेशम थापा, कोहलपुर ।

प्रतिक्रिया दिनुहोस्