रोशनको मन दुख्यो



कोरोनाका कारण विश्व नै आक्रान्त भइरहेको को बेलामा गायक रोशन धौभडेलको म्युजिक भिडियो मन दुख्यो सार्वजनिक गरिएको छ।म्युजिक भिडियो साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुममार्फत सार्वजनिक गरिएको हो। कोरप्रिउ अडियो भिडियो मिलको प्रस्तुति रहेको गीतमा शब्द रचना उज्ज्वल बस्नेत, अवधारणा एवं निर्देशनमा सुशील चालिसे, गायन तथा संगीत रोशन धौभडेल र छायांकन एवं सम्पादन रिक्की कर्माचार्यको छ।

प्रमुख अतिथि गीतकार थापाले गायकी राम्रो भन्दै समाधान गर्न मिल्ने थोरै मिक्सिङको समस्यालाई सुधार्न सुझाव दिए। थापाले कलेज पढ्दाको १७-१८ वर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ वर्ष जेठा यादव खरेलसँगसँगै गीत रेकर्ड गरेको र आफूभन्दा १०-१५ वर्ष जेठा हरिभक्त, कालीप्रसादहरुभन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठो हुन पुगेको स्मरण गरे।साहित्यकार ध्रुव मधुकर्मीले परिकल्पना राम्रो भएकोले धेरै दर्शक तान्न सक्ने भए तापनि गायकलाई शुरुदेखि अन्तसम्म गायकको रुपमा मात्रै नभएर कलाकारको रुपमा पनि देखाइएको भए राम्रो हुने धारणा राखे। गीतकार सुभाषचन्द्र ढुंगेल आफू गीतकार भएको कारण शब्द कसरी शुरु भएको छ, त्यसमा ध्यान दिने र गीतको शुरुवात मन दुख्यो भित्रभित्रै, आँशु आँखाभरि असारको पानी होइन होइन साउने झरीले मन छोएको बताए।

कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठले ६० को दशकको पुरानो गीतलाई सुहाउँदो बाजाको प्रयोग गरेर न्याय दिएको र पुरानो गीत ल्याएर प्रसंशनीय काम गरेको चर्चा गरे भने एनआरएन ग्लोबलका क्यानडा निवासी अभिमन्यु बस्नेतले आवश्यक पर्दा सांगीतिक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए।भक्तपुर सांगीतिक समाजका सचिव अलबर्ट बज्राचार्यले राजेन्द्र थापामा भएको अथाह ज्ञान र सीपको भक्तपुरवासीले फाइदा लिन नसकेकोमा चिन्ता व्यक्त गरे। भक्तपुर सांगीतिक समाजका अध्यक्ष तथा गायक प्रवीण शाहीद्धारा सञ्चालित कार्यक्रममा सुशील चालिसेले स्वागत मन्तव्यका साथै म्युजिक भिडियोको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्