जनतालाई सास्ती, ओली सरकारलाई मस्ती



देश कोरोना महामारीको दोस्रो लहरका कारण थलिएको छ । दैनिक सयौँ नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । लाखौँ मजदुरको अवस्था बिजोग छ । महिनौँदेखि देश निषेधाज्ञामा ठप्प छ । जनता रोग होइन अब भोकले मर्ने त्रास पैदा भएको छ । तर सरकार मस्तीमा देखिएको छ । प्रधानमन्त्री केपी ओली दैनिक मन्त्रिपरिषद् विस्तारमा व्यस्त छन् । उनी आफू निकटहरुका श्रीमान्–श्रीमतीदेखि सर्वोच्चमा विचाराधीन रहेका मुद्दावालाहरुलाई दैनिक मन्त्रीको पगरी गुथाइरहेका छन् ।

भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । तर ओली सरकार जनताको करमा दैनिक रजाइँ गर्न असंवैधानिकरुपमा नयाँ–नयाँ मन्त्रीरुपी डाँकाहरु भित्र्याइरहेकाे छ । जनताका समस्या ज्युका त्युँ छन् । तर केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको गफ छाँटिरहेका छन् । उनी यसरी गफ छाँटिरहेका छन् कि नेपाल विकासमा यति धेरै उचाइमा पुगिसक्यो । तर उनी इतिहासकै स्वेच्छाचारी र नालायक प्रधानमन्त्रीको रुपमा देशले भोग्न बाध्य भएको छ ।भारतसामु लम्पसार ओली सत्ता जोगाउन भारतीय दलाल राजेन्द्र महतोलाई काँधमा राखेर मन्त्री बनाइदिन्छन् । उनी भारतलाई खुशी पार्न नागरिकता विधेयकदेखि चुरे दोहन गर्नेसम्मका नयाँ–नयाँ विखण्डनकारी कार्य एकपछि अर्कोरुपमा गर्दै आएका छन् । उनले प्रतिनिधिसभा विगठनदेखि अनेक असंवैधानिक कार्य गर्दै आफ्नो नालायकीपन प्रस्तुत गरिसकेका छन् । अबको एकमात्र निकास ओलीको विदाइ मात्रै हो । उनको अबको राजनीतिक यात्रा ओरालो लागिसकेको छ । जनताले पनि अब बुझ्न जरुरी छ ।

जनताका पीडा बुझ्नेहरु सरकारमा भए शायद कोही नागरिक अहिले अक्सिजनको अभावमा मर्नुपर्ने अवस्था आउने थिएन । जबसम्म यस्ता नालायक ओलीहरुहको हातमा सत्ताको चाबी रहिरहन्छ तबसम्म देश र जनताले दुःख पाई नै रहनेछन् । यो समय पनि बितेर जानेछ भनेर आशावादी बन्दै ओलीको कुशासनबाट देशलाई मुक्त गर्न हामी जनता अब बोल्नै पर्छ । कुनै पार्टीका अन्धभक्त नभएर हामीले स्वतन्त्ररुपमा देशलाई नियाल्यौँ भने महसुस गर्न सक्छौँ । यस्ता नालायक नेतृत्वहरुका कारण देश दशकौैँसम्म विकास हुन सकेन । सामन्त गोयल र मोदीको तालमा नाच्ने ओलीको वास्तवमै इतिहासले कालो अक्षरमा नाम लेख्ने नै छ ।

अब हामी जनता जाग्ने बेला आएको छ । सर्वोपरि देशलाई सम्झेर काम गर्नेहरुलाई चुनावमा मतदान गर्नै पर्छ । यस्ता भ्रष्ट स्वेच्छाचारीहरुका कारण कहिलेसम्म साधारण जनताले दुःख पाउने ? एउटा सामान्य कम्युनिस्ट कार्यकर्ता शेरबहादुर तामाङ जसरी अर्बपति बनेका छन् ओली राजको वास्तविक चेहरा यही नै हो । अब जनहित र देशहितमा सोच्ने बेला आएको छ, जनता हो, उठौँ–जुटौैँ ।

– कल्पना नेपाली, बझाङ ।

प्रतिक्रिया दिनुहोस्