जहाज दुर्घटनाको पीडा भुल्दै देशभर छात्रवृत्ति



न्युज अफ नेपाल, हेटौंडा ।

जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ ।

दुर्घटनमा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा स्थापना गरिएको स्काई मेमोरियल फाउन्डेसन नामक संस्थाले देशभर सहयोगको श्रृंखला जारी राखेको हो । मकवानपुरको फापरबारी, गोठडाँडा र बस्तीपुरनजिकका ५ गाउँमा गरी शुक्रबारसम्म ५० जनालाई सहयोग गरिसकिएको र उक्त कार्य जारी रहेको उहाँले बताउनुभयो ।

संस्थाले शारीरिक अशक्तका सन्तानलाई अध्ययनका लागि ५ वर्षदेखि मासिक २ देखि ३ हजारका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘बालबालिकाले अध्ययन गरे भने उनीहरु भविष्यको सहारा बन्नेछन्,’ शेर्पाले सहयोगको कारण खुलाउनुभयो ।

संस्थाले केही समयअघि सिरहाको लहानमा २० जना, सोलुखुम्बुको बिकट क्षेत्रमा २० जना, कैलालीको अत्तरिया र गैरीगाउँमा २०र२० जना, रामेछापमा पनि २० जना, धनकुटाको कुवापानीमा २० जनालगायतलाई नगद एक हजार ५ सय रुपियाँका दरले सहयोग गरेको थियो । गैरीगाउँमा गत वर्ष कोरोना संक्रमणका कारण ज्यान गुमाएकाका ४ सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको शेर्पाले बताउनुभयो ।

विभिन्न विद्यालयमा अध्ययनरत् साना विद्यार्थीलाई विद्यालय झोला, चप्पल र स्टेसनरी पनि सहयोग गर्ने गरिएको छ । मकवानपुरको बकैया–१० स्थित अम्बासमा रहेको सरस्वती प्राथमिक विद्यालयको ईसीडी कक्षा भवन निर्माणसहित छात्रवृत्ति बितरणमा पनि सहयोग गरिएको छ ।

दुःखद् घटनापछि अभिभावकले पीडालाई शक्तिमा बदलेर अरुका लागि प्रेरणादायी काम गरेका हुन् । पूर्वी मकवानपुरको शिखरपुरमा भएको जहाज दुर्घटनापछि देशका विभिन्न क्षेत्रमा विकासका गतिविधि भएका छन् । जहाज दुर्घटनामा निधन भएकाको स्मृतिमा शिखरपुरमा मोटरबाटोदेखि निःशुल्क स्वास्थ्य क्लिनिकसम्म सञ्चालनमा आएका छन् । मृतकका आफन्तले शिखरपुरको बस्तीपुरमा विद्यालय भवन निर्माण गर्नुका साथै स्वास्थ्य क्लिनिक, कर्मचारी आवासगृह, पुस्तकालयदेखि मोटरबाटोसमेत निर्माण गरिदिएका छन् ।

नेपालमा हालसम्म धेरै विमान दुर्घटना भएका छन् । तर, दुर्घटनाग्रस्त क्षेत्रमा पीडित परिवारको अग्रसरतामा यति ठूलो विकास भएको कतै पाइँदैन । त्यसैले क्षतिलाई ऊर्जाका रुपमा बदल्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् अभिभावक । भन्छन्–विमान कम्पनीले अग्रसरता लिएर पीडित परिवारलाई समन्वय गर्ने हो भने दुर्घटनास्थललाई नमूना क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

दुर्घटनाले दुर्घटनास्थलमा विकासका थुप्रै आयाम जन्माएको छ । छतिवनको चिसापानी हुँदै बस्तीपुरसम्मको ६ किमी सडक मृतकका आफन्तकै अगुवाइमा निर्माण भएपछि स्थानीयले यातायात सुबिधा पाएका छन् । मकवानपुरबाट शुरु भएको विकास अभियान देशभर पुगेको छ ।

शिखरपुर, मन्थली र फापरबारीका १३ विद्यालयमा निरन्तर आर्थिक तथा भौतिक सहयोग हुँदै आएको छ । दुर्घटनामा निधन भएका तीन जनाको नामको पहिलो अक्षरबाट स्काई फाउण्डेसन निर्माण गरी विद्यालय र गाउँको विकास भइरहेको दुर्घटनामा निधन भएकी परिचालिका सहारा शेर्पाका बुबा तथा फाउण्डेसन अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । तीन परिवार र अग्नि एयरको करिब १२ लाख सहयोगमा फाउण्डेसन स्थापना गरिएको हो ।

दुर्घटनामा निधन भएकी परिचालिका शेर्पा, अमेरिकी नागरिक केन्द्रा डोम्निक्यु फालोन र जापानी नागरिक युक्की हायासीको स्मृतिमा देशका विभिन्न क्षेत्रमा सहयोग हुँदै आएको छ । मृतक शेर्पा २१, हायासी र फालोन दुवै १९ वर्षीय थिए ।

दुर्घटनामा ८ नेपाली र ६ विदेशी नागरिकको ज्यान गएको थियो । अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परेको थियो । २०६७ भदौ ८ गते विहान करिब ७ः३० बजे भएको दुर्घटनाका मृतकको सम्झनामा सोही स्थानमा करिब १६ फिट अग्लो बौद्ध स्मारक स्तुप बनाइएको छ । जहाँ हरेक भदौ ८ गते विशेष पूजा गर्ने गरिएको छ ।

बस्तीपुरको बकियाठाकुर आधारभुत विद्यालयनजिक जहाज दुर्घटनामा परेको थियो । बकियाठाकुरलाई सहयोगका निम्ति फाउण्डेसन खडा गरिएको थियो, जसले हाल देशभर आफ्नो सहयोग बिस्तार गरेको छ । विद्यालयको खेतमा निर्मित स्तुपमा राखिएको ताम्रपत्रमा सबै १४ मृतकको नामावली समावेश छ ।

‘दुर्घटनामा निधन भएकी छोरीको सम्झनामा गाउँको विकास गर्ने सोच पलायो,’ शेर्पाले भन्नुभयो–छोरीको बिमाबाट आएको रकम गाउँको विकासमा लगायौं । शेर्पाले छोरीको निधनको शोकलाई शक्तिमा परिणत गर्न आफू समाजसेवामा क्रियाशील भएको बताउनुभयो । विद्यालयको जग्गामा मृतक विदेशी परिवारले जापानबाट ल्याएका चेरी ब्लोजम बिरुवा सोही वर्ष मंसिर २१ गते रोपेका थिए । मृतक युक्कीका बुबा टोसियाकी र आमा मीसाले बिरुवा रोपेका हुन् ।

प्रतिक्रिया दिनुहोस्